पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ।
आइतबार बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो।
शुक्रबार र शनिबार लगातार वर्षा भइरहेका कारण आइतबार बिहानदेखि सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
आइतबारदेखि कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ। बिहानैबाट वर्षा जारी छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी प्रदेशमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ।
सप्तकोशीमा आइतबार बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ। सुनकोशी, अरूण र तमोर नदीमा पनि पानीको सतह खतराको तहभन्दा माथि छ। —न्युज एजेन्सी नेपाल