'आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम!'
सन् १८१७ मा बेलायत, वेल्सका कपडा उद्योगी रोबर्ट ओवेनले कामदारको काम गर्ने समयलाई व्यवस्थित र न्यायपूर्ण बनाउन यस्तो नारा दिएका थिए।
समयसँगै राति आठ घण्टा सुत्नुपर्छ भन्ने धारणा पनि आम रूपमा स्थापित भयो।
तर के वास्तवमै सबैका लागि आठ घण्टाको निद्रा आवश्यक हुन्छ?
पर्याप्त निद्रा नपाउनु समस्या हो भन्नेमा धेरै विवाद छैन। एक रात मात्रै राम्रोसँग सुत्न नपाउँदा पनि भोलिपल्ट सोच्ने र काम गर्ने क्षमतामा कमी आउन सक्छ। तनाव बढ्न सक्छ र मानिस बढी चिडचिडे बन्न सक्छ।
लामो समय निद्रा नपुग्दा भने मानसिक तथा संज्ञानात्मक क्षमतामा ह्रास, मानसिक स्वास्थ्य सम्बन्धी समस्या र समय अगावै मृत्युको जोखिमसँग सम्बन्ध देखिएको छ।
तर धेरै सुत्नु पनि सधैं राम्रो नहुन सक्छ।
अनुसन्धानहरूले निद्राको अवधि र स्वास्थ्यबीच 'यू' आकारको सम्बन्ध रहेको देखाएका छन्। अर्थात्, अत्यन्त कम र अत्यन्त धेरै दुवै निद्रा स्वास्थ्यका लागि उपयुक्त नहुन सक्छन्।
बीचको कुनै निश्चित अवधिमा सुत्दा स्वास्थ्यका लागि बढी फाइदा हुने देखिन्छ।
उसो भए कति घण्टा सुत्ने त?
सन् २०१५ मा प्रकाशित दुई ठूला अध्ययनले मानिसका लागि उपयुक्त निद्राको अवधि कति हो भन्ने पत्ता लगाउने प्रयास गरेका थिए।
'स्लिप हेल्थ' जर्नलमा प्रकाशित पहिलो अध्ययनले सन् २००४ देखि २०१४ सम्म प्रकाशित ५७५ वटा अध्ययनको समीक्षा गरेको थियो। त्यस अनुसार १८ देखि ६४ वर्ष उमेरका वयस्कले रातमा ७ देखि ९ घण्टा सुत्नु उपयुक्त मानिएको थियो।
६५ वर्षभन्दा माथिका मानिसका लागि भने ७ वा ८ घण्टा निद्रा पर्याप्त हुने सुझाव दिइएको थियो।
त्यस्तै, 'स्लिप' जर्नलमा प्रकाशित अर्को अध्ययनले ३११ वटा अध्ययनको विश्लेषण गरेको थियो। त्यसले रातमा करिब ७ घण्टा निद्रालाई उपयुक्त लक्ष्य मानेको थियो।
तर नियमित रूपमा ९ घण्टाभन्दा बढी सुत्दा हुने नकारात्मक प्रभावबारे अझै केही अनिश्चितता रहेको सो अध्ययनले जनाएको थियो।
हालैको एउटा अध्ययनले निद्रा र शरीरका विभिन्न अंगको स्वास्थ्यबीचको सम्बन्धलाई अझ सुक्ष्म रूपमा हेरेको छ।
'नेचर' जर्नलमा मे १३ मा प्रकाशित उक्त अध्ययनमा अनुसन्धानकर्ताले 'बायोलोजिकल क्लक' अर्थात् शरीरको जैविक घडी (अवस्था) लाई उमेरसँग तुलना गर्ने अवधारणाको प्रयोग गरेका थिए।
कुनै व्यक्तिको वास्तविक उमेरभन्दा उसको शरीर वा कुनै अंग जैविक रूपमा बढी बूढो देखिन सक्छ।
उदाहरणका लागि, मस्तिष्कमा समस्या भएको व्यक्तिको 'मस्तिष्कको जैविक उमेर' उसको वास्तविक उमेरभन्दा बढी हुन सक्छ। त्यसैगरी, शारीरिक रूपमा सक्रिय व्यक्तिको मांसपेशी उसको उमेर अनुसार अपेक्षा गरिएभन्दा जवान देखिन सक्छ।
कोलम्बिया विश्वविद्यालयका कम्प्युटेसनल न्युरोसाइन्टिस्ट जुनहाओ वेनको नेतृत्वमा गरिएको अध्ययनमा करिब पाँच लाख वयस्कको तथ्यांक विश्लेषण गरिएको थियो।
यसका लागि ठूलो हिस्सा बेलायतको 'युके बायोबैंक' बाट लिइएको थियो।
अनुसन्धानकर्ताले निद्राको अवधि र शरीरका २३ वटा फरक जैविक घडीबीचको सम्बन्ध अध्ययन गरेका थिए।
उनीहरूले मस्तिष्क, फोक्सो, कलेजो र छालासहित शरीरका नौ प्रणालीमा निद्राको अवधि र जैविक उमेरबीच 'यू' आकारको सम्बन्ध देखे।
अध्ययनका अनुसार महिलाका लागि रातमा ६.५ देखि ७.८ घण्टा र पुरूषका लागि ६.४ देखि ७.७ घण्टा निद्रा शरीरका विभिन्न प्रणालीका लागि उपयुक्त देखिएको थियो।
तर अनुसन्धानकर्ताहरूले यो तथ्यांकलाई व्यक्तिगत जीवनमा हुबहु लागू गर्न सावधानी अपनाउनुपर्ने बताएका दि इकोनोमिस्ट पत्रिकाले लेखेको छ।
किनकि ठूलो समूहमा देखिएको परिणाम प्रत्येक व्यक्तिका लागि समान नहुन सक्छ। कतिपय मानिसलाई ४–५ घण्टाकै निद्रा पनि पर्याप्त हुन सक्छ।
त्यस्तै, निद्रा कम भएकै कारण कुनै अंग समय अगावै बूढो भएको हो कि शरीरमा भइरहेको अर्को कुनै समस्याले एकैसाथ निद्रा र जैविक उमेर दुवैलाई प्रभावित गरेको हो भन्ने छुट्ट्याउन पनि कठिन हुन्छ।
एरिजोना विश्वविद्यालयका मनोचिकित्सक माइकल ग्रान्डनरका अनुसार निद्राको अवधि मात्रै महत्वपूर्ण होइन। निद्राको गुणस्तर, नियमितता र बीचमा पटक पटक नब्युँझिने गरी निरन्तर सुत्न सक्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
त्यसैले उनले निद्राको कुनै एउटा निश्चित अंकलाई लिएर अत्यधिक चिन्ता नगर्न सुझाव दिएका छन्।
निद्राकै चिन्ताले पनि निद्रा बिगार्न सक्छ
निद्रासँग जोडिएको एउटा रोचक कसुरा के हो भने निद्राबारे धेरै चिन्ता गर्दा झन् निद्रा बिग्रिन सक्छ।
अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनले सन् २०२५ मा गरेको सर्वेक्षणमा ७६ प्रतिशत सहभागीले निद्राको चिन्ताकै कारण निद्रा गुमाएको बताएका थिए।
त्यसैले राति सात घण्टा पुग्यो कि पुगेन, आठ घण्टा भयो कि भएन भनेर घडी हेर्दै बस्नु राम्रो नहुन सक्छ।
अध्ययनको सन्देश सरल रूपमा बुझ्ने हो भने, रातमा करिब ६ देखि ८ घण्टा निद्रालाई लक्ष्य बनाउन सकिन्छ। तर प्रत्येक रात ठ्याक्कै उत्ति नै घण्टा सुत्नैपर्छ भन्ने दबाब लिन आवश्यक छैन।
शरीरले दिएको संकेत सुन्नु महत्वपूर्ण छ। बिहान उठ्दा आफूलाई ताजा, आराम र सक्रिय महसुस हुन्छ कि हुँदैन भन्ने कुरा पनि निद्रा पर्याप्त छ कि छैन भन्ने बुझ्ने एउटा महत्वपूर्ण आधार हुन सक्छ।
त्यसैले आठ घण्टाको नियमभन्दा एउटा सामान्य मार्गदर्शनका रूपमा लिनु उचित देखिन्छ।
निद्राको विषयमा 'कति घण्टा' भन्दा 'कस्तो निद्रा' भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)