रोशीले बगाएको बिपी राजमार्ग सिन्धुली र काभ्रे खण्ड दुवैतिरबाट बनाउन थालिएको छ।
सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार काभ्रेतर्फ अहिले चौकीडाँडा, तीनथली, कालढुंगा खण्डबाट डाइभर्सन बनाउन सुरू गरिएको छ।
दुर्गा प्रसादका अनुसा चौकीडाँडाका एउटा उपकरण परिचालन गरिएको छ। तीनथलीका एउटा र कालढुंगामा दुइटा उपकरण चालु अवस्थामा छन्।
‘खोलाको बहाव घटेको छैन। खोलाको बहाव घटेको भए हामी अझै बढी उपकरण परिचालन गर्न सक्थ्यौं,’ उनले भने, ‘भोलिबाट चारसयबेसी र कटुञ्जे खण्डमा पनि डाइभर्सन सुरू गर्छौं।’
रोशी खोलामा आएको लेदोसहितको भेलबाढीले माप्ती खोलादेखि बाइया खेतसम्म गत वर्ष बनाएको पाँच किलोमिटर ३०० मिटर अस्थायी डाइभर्सनमध्ये ३ किलोमिटर ४१० मिटर खण्ड पूरै बगाएको थियो। जसका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।
सडक डिभिजन भक्तपुरका अनुसार सबैभन्दा बढी डालाबेसी खण्डमा डाइभर्सन कटान भएको छ। त्यहाँ ८४१ मिटर अस्थायी डाइभर्सन बनाइएकामा ४०० मिटर खण्ड पूरै बगाएको छ।
त्यसपछि माम्ती खोलामा कटान भएको छ। त्यहाँ ६२० मिटर अस्थायी डाइभर्सन गरिएकामा ४०० मिटर भाग खोलाले कटान गरेको छ। पिप्लेको सुख्खा पहिरो र चौकी डाँडा खण्डमा पनि ३५०–३५० मिटर खण्ड कटान गरेको छ। चौकी डाँडामा ३७५ मिटर अस्थायी डाइभर्सन गरिएको थियो भने पिप्लेको सुख्खा पहिरोमा ३६२ मिटर डाइभर्सन गरिएको थियो।
सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले आगामी चार–पाँच दिनभित्र डाइभर्सन सञ्चालनमा ल्याइसक्ने बताए।
‘चार–पाँच दिनभित्र गाडी गुडाउन सकिने गरी डाइभर्सन बनाउन थालेका छौं,’ उनले भने।
अहिले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म पूर्णरूपमा अवरूद्ध छ। भकुण्डेयता धुलिखेलसम्म पनि केही स्थानमा सडक भासिएको छ भने पहिरो पनि खसेको छ।
सिन्धुलीतर्फ पनि नेपालथोकबाट पनि दुई वटा स्काभेटर प्रयोग गरी डाइभर्सन बनाउन सुरू गरिएको सडक डिभिजन सिन्धुलीले जानकारी दिएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले करिब १३ किलोमिटर सडक कटान गरेको थियो।
कटान गरिएकामध्ये सडक डिभिजन भक्तपुरले ५ किलोमिटर ३०० मिटर खण्डमा अस्थायी ट्र्याक खोलेको थियो। उक्त सडक खण्डमध्ये कतिपय खोलाको किनारबाटै खोलिएको थियो।
गत असोजको बाढीपछि १३ दिनमै उक्त अस्थायी ट्र्याक तयार पारिएको थियो। सडक डिभिजनले वर्षाअगाडि पुनः त्यस ट्र्याकलाई उकासेर खोलाको सतहभन्दा माथि ल्याएको थियो। कतिपय स्थानमा खोला खारेर सडकलाई कटान हुन बाट जोगाइएको थियो।
त्यसरी बनाइएको अस्थायी डाइभर्सन पूरै बगाएको र बिपी राजमार्गलाई गत वर्षको बाढीपछिकै अवस्थामा पुर्याइदिएको साइट इन्जिनियर दुर्गा प्रसादले बताए। उनका अनुसार उक्त खण्डमा सडक डिभिजन भक्तपुर १० करोडभन्दा बढी रुपैयाँ खर्च गरेर अस्थायी डाइभर्सन तयार पारेको थियो।
बिपी राजमार्ग पुनर्निर्माण गर्ने गरी चारवटा खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ। ठेकेदार परिचालन भने भइसकेको छैन।
चार खण्डमध्ये एक खण्ड जाइकाले बनाउने समझदारी भएको छ। बाँकी तीन खण्ड सडक विभागले बनाउने गरी ठेक्का लगाइएको छ।
काठमाडौं उपत्यकालाई देशको पूर्वी भेगसम्म जोड्ने उक्त बिपी राजमार्गमा दैनिक पाँच हजारभन्दा बढी सवारी गुड्छन्। यो बाटो अवरूद्ध भएपछि यात्रुहरूलाई पूर्व जान सकस भएको छ। यस बाटोको विकल्पका रूपमा यात्रुहरूले अरनिको राजमार्ग, दोलखाको चरिकोट हुँदै खुर्कोट निस्किने गरेका छन्।