भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएका ३० जना अझै उपचाररत छन्।
त्यस दिन संसद भवन अगाडि पुगेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। अन्य ठाउँमा पनि रबर र धातुको गोली, अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज समेत गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार, त्यस दिन देशभर २ हजार ३१६ जना घाइते भएका थिए। तीमध्ये ३० जना घाइते अझै उपचाररत छन्।
असोज २१ सम्म देशभरका विभिन्न अस्पतालमा ३० जना घाइते जेनजी को उपचार भइरहेको छ। तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
'आज बिहानसम्मको तथ्यांक अनुसार ३० जना घाइतेहरू उपचाररत छन्। उनीहरूको स्वास्थ्य सुधारोन्मुख छ। घर फर्किने क्रम बढिरहेको छ,' उनले भने।
घटना भएको एक महिना बित्नै लाग्दा पनि उनीहरू घर फर्किन पाएका छैनन्।
तीमध्ये धेरै घाइतेहरूको उपचार भएको उपत्यकाका तीनवटा अस्पतालमा अझै कति जनाको उपचार भइरहेको छ भनेर हामीले सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरका अधिकारीसँग कुराकानी गरेका छौं।
आन्दोलन क्रममा सबैभन्दा बढी घाइते पुर्याइएको सिभिल अस्पतालमा एक जनाको मात्रै उपचार भइरहेको छ।
सिभिल अस्पतालका मेडिकल डिभिजन प्रमुख डा. दीपक पौडेलका अनुसार कालिकोट घर भएका २२ वर्षीय धर्मेन्द्र शाही उपचाररत छन्।
उनी भदौ २३ गतेको प्रदर्शन क्रममा छातीमा गोली लागेका थिए। त्यतिबेला उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो।
पटकपटकको अपरेशनपछि उनलाई केही दिन अघिमात्र वार्डमा सारिएको डा. पौडेलले जानकारी दिए।
'उहाँलाई अझै केही दिन अस्पतालमा राख्नुपर्छ। छातिमा गोली लागेकाले उहाँको अवस्था गम्भीर थियो। अहिले सुधार हुँदै आएको छ,' डा. पौडेलले भने।
उनका अनुसार आइतबार मात्रै १९ वर्षीय सुवास दाहाललाई डिस्चार्ज गरिएको थियो। उनको पनि छातीमै गोली लागेको थियो। स्वास्थ्यमा सुधार देखिएपछि परिवारले घर लिएर गएको डा. पौडेलले बताए।
सिभिल अस्पतालमा ४६० जना घाइतेलाई उपचारका लागि पुर्याइएको थियो। तीमध्ये ६ जनाको मृत्यु भएको थियो। ३३६ जनाको सामान्य उपचारपछि डिस्चार्ज भएका थिए भने ५० जनालाई भर्ना गरेरै उपचार गर्नुपरेको डा. पौडेलले जानकारी दिए।
'भर्ना गरिएकामध्ये पनि ९ जनाको अवस्था गम्भीर थियो। त्यसमध्ये अब एकजनामात्र बाँकी हुनुहुन्छ,' उनले भने, 'भर्ना भई उपचारपछि डिस्चार्ज भएका घाइतेहरू फलोअपमा भने आइरहनुभएको छ।'
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा अझै ५ जना घाइतेको उपचार भइरहेको अस्पतालका व्यवस्थापन अधिकृत सागर पौडेलले जानकारी दिए।
पौडेलका अनुसार, २४ वर्षीय एमडी सलाउद्दिन, २५ वर्षीय सञ्जय घिसिङ, २७ वर्षीय विशाल बजगाईं, २९ वर्षीय विक्रम लमकहा, र १८ वर्षीय सुनिल थापाको उपचार भइरहेको छ।
उनीहरू सबैको अवस्था सामान्य छ।
केही दिनअघि मात्र उनीहरूलाई आइसियूबाट वार्डमा सारिएको पौडेलले जानकारी दिए।
'उपचाररत घाइते सबैको अवस्था अहिले सामान्य छ। अब फलोअपमा आउने गरी विस्तारै डिस्चार्ज हुन्छ,' उनले भने, 'उनीहरूको छाती, खुट्टा र हातमा गोली लागेको छ।'
जेनजी आन्दोलनको क्रममा घाइते भएका १०७ जनालाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। त्यसमध्ये २३ वर्षीय रसिक खतिवडाको मृत्यु भएको थियो।
घाइतेमध्ये ४१ जनालाई भर्ना गरेर उपचार गरिएको थियो। ३६ जना डिस्चार्ज भइसकेका छन्। पौडेलका अनुसार, घाइतेमध्ये २२ जनाको शल्यक्रिया गरिएको थियो। उपचाररत रहेका ६ बिरामीलाई भने अस्पतालले मनमोहन मेमोरियल अस्पताल रेफर गरेको उनले बताए।
'अहिले उपचाररत रहेका धेरैजनाको खुट्टामा गोली लागेका छन्। त्यसपछि हात र छातिमा गोली लागेका छन्,' पौडेलले भने, 'उपचारपछि घर फर्किएका बिरामीहरू पनि फलोअपमा आइरहनुभएको छ।'
त्यस्तै, ट्रमा सेन्टरमा ११ जना जेनजी आन्दोलनमा घाइते भएका बिरामीको उपचार भइरहेको छ।
आन्दोलनको क्रममा १९२ जना घाइतेहरूलाई उपचारका लागि ल्याइएको थियो। त्यसमध्ये ११ जनाको अहिले पनि उपचार भइरहेको ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले जानकारी दिए।
'अहिले उपचाररत रहेका ११ जनाको अवस्था मध्यम छ,' उनले भने, 'विस्तारै निको हुँदै डिस्चार्ज हुने क्रम चलिरहेको छ।'
जेनजी प्रदर्शन क्रममा घाइते भई उपचारका लागि पुर्याइएकामध्ये ८ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको थियो।
प्रदर्शनकै दिन उपचारका लागि ल्याइएका ३ जनाको अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको थियो। उपचारको क्रममा ५ जनाको मृत्यु भएको डा. रिजालले जानकारी दिए।