डोटीमा एक प्रहरी जवानलाई ठक्कर दिएर भागेको यात्रुबाहक बस र चालक पहिचान गरी प्रहरीले मुद्दा चलाएको छ।
असोज १७ गते मध्यराति प्रहरी जवान शंकर बलायर सडक खण्डमा मृत फेला परेका थिए। उनको टाउकोको पछाडि भागमा गम्भीर चोट पटक थियो।
बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।
उनी दसैं बिदामा डोटीको शिखर नगरपालिका–८ तिलतालीस्थित घर आएका थिए।
डोटीका प्रहरी प्रमुख डिएसपी महेन्द्र नेपालका अनुसार पैदल हिँडिरहेका प्रहरी जवान बलायरलाई तीव्र गतिको ना ७ ख १७२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएर भागेको थियो।
सिसी टिभी फुटेज लगायत प्राविधिक विश्लेषणपछि डोटीबाट प्रहरीको तीन टोली, धनगढी, कैलाली लगायतका क्षेत्रमा बसको खोजीको लागि पुगेको थियो। त्यो टोलीले मंगलबार सोही क्षेत्रबाट चालक र बसलाई फेला पारेको थियो।
चालक बाजुरा जिल्लाको गौमुल गाउँपालिका–२ मल्दुकुनका ३३ वर्षीय गणेश धामी र बसलाई नियन्त्रणमा लिएपछि बुधबार मात्रै प्रहरीले डोटी पुर्याएर मुद्दा चलाएको हो।
प्रहरी जवान बलायर असोज १७ गते सवा १२ बजे एक जना व्यक्ति केआई सिंह राजमार्गअन्तर्गत गोपघाट भन्ने सडकमा अचेत अवस्थामा फेला परेका थिए। अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।