दोलखामा अलपत्र परेका ४ जना विदेशी र दुई जना पथप्रदर्शकको उद्धार गरिएको छ।
बुधबार बिगु गाउँपालिका-१ स्थित लच्ची गुम्बामा पुगेर फर्किने क्रममा बाटोमा सुख्खा पहिरो खसेपछि अलपत्र परेका उनीहरूलाई बिहीबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा स्वीट्जरल्याण्डका दुई जना, रूसका २ जना र दुई जना पथप्रदर्शक रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर श्रीराम तिमल्सिनाले जानकारी दिए।
'उहाँहरू फर्किने क्रममा बाटोमा सुख्खा पहिरो आएपछि बुधबारदेखि अलपत्र पर्नुभएको थियो। रेक्स्यु गरेर जिल्ला प्रहरी कार्यालय ल्याउँदै छौं,' इन्स्पेक्टर तिमल्सिनाले भने।