सरकारले पर्सा र बारा जिल्लामा हैजा विरूद्धको खोप अभियान चलाउने भएको छ।
भदौ ६ गते पहिलो पटक वीरगन्जको मुरली टोलमा हैजाका बिरामी भेटिएको थियो। त्यसयता पर्सा र बारा जिल्लामा गरी १६ सय ८५ बिरामी फेला परेको परिवार कल्याण महाशाखाले जनाएको छ।
पर्सा जिल्ला र बाराका ६ पालिकाको लागि १० लाख १८ हजार १०० डोज खोप प्राप्त भएको छ।
बाराका जितपुर-सिमारा र कलैया उपमहानगरपालिका, परवानीपुर, सखुवा प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप अभियान सुरू गरिने परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले जानकारी दिए।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) ले मुखबाट लिने हैजा विरूद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसीभी) उपलब्ध गराएको हो।