सल्यानमा बेहुली लिएर फर्किँदै गरेको जिप करिब दुई सय मिटरमुनि खसेको छ।
दुर्घटनामा परी बेहुला बेहुलीसहित १२ जना घाइते भएका छन्।
सल्यान प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसीले पछाडि ब्याक भएर खसेको जिप ठूलो रूखमा अड्केकोले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताए।
‘धेरै लोडका कारण जिप पछाडिबाट ब्याक भई सोझै तल खसेको अवस्था रहेछ,’ डिएसपी केसीले भने, ‘जिप खस्दा एउटा ठूलो रूख जरैसंँगै ढलेको अवस्था देखियो त्यसपछि फेरि जिपलाई अर्को रूखले रोकेको हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको अवस्था हो।’
जिपको भित्र पछाडि बसेकामध्ये शारदा नगरपालिका– १० भागाचौरकी ६० वर्षीया गुमी कवर र १४ वर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। यो खवर तयार पार्दासम्म गुमी कवरलाई थप उपचारका लागि दाङतर्फ पठाइएको डिएसपी केसीले बताए।
अन्य घाइतेहरूमा २४ बर्षीय दुलाह चेतराम गिरी, २० वर्षीया दुलही कमला गिरी पनि छन्। त्यस्तै १४ वर्षीया हरिकला कवर, १४ वर्षीया रेनुका कवर, १७ वर्षीय हेमराज कवर, १८ वर्षीय प्रबिन कवर, २६ वर्षीया कुमारी बुढाथोकी, ४२ वर्षीया प्रमिला गिरी, १५ वर्षीया बिमला गिरी र ३३ बर्षीय रुपराल गिरी घाइते छन्।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबैको हाल जिल्ला अस्पतालमा उपचार जारी छ।
बिहीबार दिउँसो सवा ३ बजेतिर शारदा नगरपालिका– १० भागाचौरदेखि थापाचौरतर्फ बेहुली लगेर जाँदै गरेको लु.प्र.०२–००१ ज ००२१ नम्बरको जिप शारदा – ९ ज्वालापुरमा दुर्घटनामा परेको थियो।
जिप सडकदेखि करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
फरार जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।