काठमाडौंको माइतीघरमा पक्राउ परेका निकोलस भुसाल भनिने कमल भुसाललाई प्रहरीले सुधार केन्द्र पठाएको छ।
बिहीबार काठमाडौंको माइतीघरमा जेनजी आन्दोलनको माग पूरा नभएको बताउँदै उनी प्रदर्शनका लागि पुगेका थिए।
प्रदर्शनको अनुमति नदिइएको हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। बिहीबार उनीसहित ४४ जनालाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्दा वा नियन्त्रणमा लिएर छाड्न पर्दा स्वास्थ्य परीक्षण गर्छ।
भुसालको 'मेडिकल जाँच' गर्ने क्रममा उनले लागुऔषध गाँजा सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
'अघिल्लो वर्ष पनि पक्राउ पर्दा उहाँले गाँजा सेवन गरेको भेटिएको थियो। आज पनि भेटिएपछि उहाँका सहोदर दाजुको रोहबरमा सुधार केन्द्र पठाइएको हो,' एसपी भट्टराईले भने।
प्रहरीले भुसालका आपराधिक पृष्ठभूमि रहे, नरहेको, कुनै कारागारबाट फरार हो कि होइन भन्ने लगायत विवरण पनि हेरेको उनले बताए।
अन्य ४३ जनालाई भने प्रहरीले छाडिसकेको प्रहरीले बताएको छ।