कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दीको विवरण सार्वजनिक गरेको छ।
आइतबार सूचना जारी गर्दै विभागले फरार कैदीबन्दीको नामावली सार्वजनिक गरेको हो।
विभागले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न स्थानका कारागारबाट भागेर नफर्किएका कैदीबन्दीहरूको नाम सार्वजनिक गरेको हो।
यस्तै, कारागार फर्काउन विभिन्न प्रयास गरिएको र सो प्रयासपछि अहिलेसम्म ९ हवार ८ जना कैदीबन्दीहरू कारागारमा फर्किएको समेत विभागले जनाएको छ।
तर विभागका अनुसार अझै पनि ५ हजार ५४७ जना कैदीबन्दीहरू फरार छन्।
फरार कैदीबन्दीहरूको विवरण सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा समेत हुने विभागले जनाएको छ।
यस्तै, विभागले फरार कैदीबन्दीहरू सार्वजनिक सेवा प्राप्त गर्न आएका बखत सोको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्ने व्यवस्था मिलाउने समेत जनाएको छ।