वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीरमा कार्यरत ढुण्डीराजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख २० हजार ८ सय ५० रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारलाई नियमानुसार भुक्तानी गर्ने क्रममा ढुण्डीराजले घुस रकम लिई कार्यकक्षमै लुकाएर राखेको भन्ने सूचनाका आधारमा आयोगको टोली खटिएको थियो।
आयोगको टोलीले आइतबार उनलाई घुसवापतको नगदसहित एक वटा मोबाइल र अन्य सम्बन्धित कागजातसहि नियन्त्रणमा लिएको हो।
'निजलाई कार्यकक्षमै पक्राउ गरी थप अनुसन्धानका लागि आयोगको नियन्त्रणमा राखिएको छ,' पौडेलले भने।
अख्तियारले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।