जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट फरार भएका दुई जना भारतमा मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका छन्।
भारत बिहारस्थित अररिया जिल्लाको फारबिसगञ्जस्थित बथनाहाबाट पिन्टुकुमार यादव र उमेशकुमार मेहतालाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाइ छ।
उनीहरू सोमबार पक्राउ परेको जानकारी भारतीय प्रहरीले नेपाल प्रशासनलाई दिएको छ।
अररिया प्रहरीका अशिष्टेण्ट प्रमुख मुकेश कुमारको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार पक्राउ परेका दुबै सुनसरीको कप्तानगञ्जका हुन्।
सुपौल जिल्लाको वीरपुरमा मोटरसाइकल चोरी गरेर उनीहरू फारबिसगञ्जतर्फ जाने क्रममा पक्राउ परेका हुन्।
पक्राउ परेपछि उनीहरूले जेनजी आन्दोलनका क्रममा कारागारमा भागदौड भएको र आफूहरू पनि भागेको बयान दिएका छन्।
भारतीय प्रहरीले सार्वजनिक गरेका दुईमध्ये एक जनाको मात्रै नाम कारागार व्यवस्था विभागले सार्वजनिक गरेको फरारको सूचीमा भेटिन्छ।
पिन्टु कुमारको नाम फरारको सूचीमा रहे पनि उनको ठेगाना सुनसरीको देवानगञ्ज उल्लेख छ।
उमेशकुमार मेहताको नाम फरारको सूचीमा छैन।