श्रीलंकामा अन्डरवर्ल्ड ग्याङ्गका सदस्य गणेमुल्ला सन्जीवा भनिने सन्जीवा कुमारा समरारत्नेको हत्यामा संलग्न मुख्य अभियुक्तसहित ६ जना भक्तपुरमा पक्राउ परेका छन्।
रेड कर्नर नोटिस समेत जारी भएका अपराधीसहित ६ जनालाई नेपाल प्रहरीको इन्टरपोलमार्फत पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी विनोद घिमिरे जानकारी दिए।
उनका अनुसार सोमबार राति प्रमुख अभियुक्त इशारा सिउवान्डीसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरू सबै जना अवैध रूपमा नेपाल बसेको समेत भेटिएपछि अध्यागमन विभाग बुझाएको डिआइजी घिमिरेले बताए।
स्रोतका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरू दिनेश निकान्थ, दिनेश श्यामान्था, जीवथसन कन्करासा, केन्डी बासटियमपिलाइ र थाक्सी नन्थाकुमार छन्।
अध्यागमन विभागले मंगलबार ६ जनालाई नै डिपोर्ट गर्ने निर्णय गरेको थियो। उनीहरू श्रीलंकाबाट भारत हुँदै काठमाडौंसम्म आइपुगेको स्रोतले बतायो।
उनीहरूलाई अध्यागमन विभागले जरिवाना गरेपछि बुधबार दिउँसो पौने २ बजेको फ्लाइटमार्फत श्रीलंका उडेका छन्।
‘खुला सीमानाको उपयोग गरी भारतबाट नेपालसम्म आइपुगेको देखियो। लामो समय बसेको देखिन्न। अन्दाजी एक महिनादेखि बस्दै आएकोसम्म देखियो,’ स्रोतले भन्यो, ‘कसैको पनि भिसा नियमित देखिएको थिएन।’
पक्राउ परेका ६ जनालाई नै जरिवाना गराएर डिपोर्ट गर्ने निर्णय गरिएको हो।
श्रीलंकाको समाचार पोर्टल अडाडेरानाका अनुसार सन्जीवाको हत्या श्रीलंकाको राजधानी कोलोम्बोमा रहेको हल्फ्सड्रप कोर्ट कम्प्लेक्स भित्र गत फेब्रुअरी १९मा भएको थियो।
गोली हानी हत्या गरिएका गणेमुल्ला सन्जीवा।
अदालतभित्रै सन्जीवाको गोली हानेर हत्या गरिएको थियो। गोली हान्ने व्यक्ति शमिन्दु दिलशन पियुमांगालाई त्यही दिन विशेष टोलीले पक्राउ गरेको थियो।
अनुसन्धान गर्ने क्रममा प्रहरीले सिसिटिभी फुटेजलाई केलाएको थियो।
जहाँ सुटर पियुमांगालाई एक जना महिलाले सहयोग गरेको भिडिओमा देखियो।
ती महिलाले पेस्तोललाई एउटा किताबभित्र राखेर अदालत भित्रसम्म लगेको र पछि गोली हान्नसम्म प्रयोग गरेको देखिएको उक्त समाचारमा उल्लेख छ।
अनुसन्धानको क्रममा ती महिला इशारा सिउवान्डी रहेको खुलेको हो।
त्यस घटनापछि सिउवान्डी भारत आएकी थिइन्। उनी भारतका जेके भाइ भन्ने व्यक्तिको सहयोगमा डुंगा चढेर त्यहाँ पुगेकी थिइन्।
भारतसम्म पुग्न मात्रै उनले ६५ लाख श्रीलंकन रूपी खर्चेको समाचारमा उल्लेख छ।
भारतमा उनी तीन हप्तासम्म बसेपछि बस र ट्रेनमार्फत नेपाल आइपुगेकी हुन्। उनी सात दिन लगाएर भारतबाट नेपाल आइपुगेकी थिइन्।
श्रीलंका प्रहरीले हत्या भएको घटनामा ४० जनाविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। जसमध्ये १८ जनालाई श्रीलंका फिर्ता गरिसकेको थियो।
सिउवान्डीसहित केही आरोपीहरू नेपालमा रहेको खुलेपछि श्रीलंकन प्रहरी सिआइडी र विशेष प्रहरीले अपरेसन चलाएको थियो। श्रीलंकाबाट आएका प्रहरीले नेपाल प्रहरीसँग सहकार्य गरी उनीहरू बसिरहेको लोकेसन पत्ता लगाएको हो।
पक्राउ परेका व्यक्तिहरू अर्को अन्डरवर्ल्डका सदस्य केहेलब्याडडारा पद्मा नजिकका सदस्यहरू हुन्।
सिउवान्डीबारे सूचना दिनेलाई प्रहरी हेडक्वार्टरले १२ लाख श्रीलंकन रूपी पुरस्कारको घोषणा समेत गरेको श्रीलंकाको समाचार पोर्टल अडाडेरानाले जनाएको छ।