सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजन इन्जिनियर (कार्यालय प्रमुख) सहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार कार्यालय प्रमुख रविन्द्रलाल दाससहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
रविन्द्रलालसहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सव इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय/रब्बानी जेभी कन्स्ट्रक्सनका प्रोपाराइटर जफिर कवारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
कल्याणपुर नगरपालिका-५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान योजनामा भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
उनीहरूले २ करोड ३४ लाख९९ हजार ९४५ रूपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।