सर्भाइकल क्यान्सरको बारेमा बुझ्नुभन्दा पहिला हामीले क्यान्सरका बारेमा थोरै जान्न जरूरी छ। क्यान्सर भनेको शरीरमा कोषहरू पलाएर त्यसबाट उत्पन्न हुने एउटा रोग हो। जुन रोगमा कोषहरू अनियन्त्रित रूपमा बढ्दै जान्छ। त्यो बढ्दै गएर ट्युमरको रूप धारण गर्छ। त्यो ट्युमर शरीरका विभिन्न भागमा समेत फैलिएर जाने रोग क्यान्सर हो। त्योमध्ये एउटा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) हो। जुन रोग हाम्रो जस्तो देशमा भयावह रूपमा रहेको छ।
यो पाठेघरको मुखमा कोषहरू फैलिएर ट्युमर बनेर उत्पन्न हुने क्यान्सर हो। विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने विश्वभरि हरेक वर्ष ६ लाख ६० हजार नयाँ बिरामी देखिन्छन्। तीमध्ये आधा बिरामीको मृत्यु हुने गरेको छ।
सर्भाइकल क्यान्सरबारे कुरा गर्दैगर्दा यसको कारक तत्वहरू र यसबाट बच्ने उपायहरू सजिला छन्। अर्थात् थोरै मात्र सचेत भए पनि यो रोगबाट बच्न सकिन्छ।
अहिलेको सर्वेक्षणले के देखाएको छ भने सर्भाइकल क्यान्सर हुनुको कारण ह्युमन प्यापिलोमा भाइरस हो भनेर भनिन्छ। ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनसाथ सर्भाइकल क्यान्सर हुने भन्ने होइन। ९० प्रतिशतभन्दा धेरैलाई जीवनमा एक पटक यसको संक्रमण हुन्छ। यो आफै हराएर जाने हुन्छ। यो धेरै समय रहिरह्यो भने यसले क्यान्सर गराउँछ। त्यसैले यसबाट बच्नको लागि खोप लगाउन पर्छ। नेपाल सरकारको खोप तालिकामै यो परेकाले सकारात्मक कुरा हो।
यो रोगबाट बच्ने अर्को उपाय भनेको एचपिभी डिएनए परीक्षण हो। जुन परीक्षण धेरै ठाउँमा उपलब्ध पनि छ। यसको आधारमा उपचार गर्न सकिन्छ। एचपिभी परीक्षण गरेर क्यान्सरको सुरूआती चरण थाहा हुन्छ। सुरूआती चरण थाहा पाएर क्यान्सरकै रूपमा देखिन करिब १५ वर्ष लाग्छ भनिन्छ। त्यसैले यो समयमा उपचार समेत गर्न सकिन्छ। यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकेमा उपचार गर्न सकिने र रोकथाम गर्न सकिने हुन्छ।
प्रत्येक ३० वर्ष पुगेका अनि शारीरिक यौन जीवनमा आबद्ध भएका महिलाहरूले हरेक ५ वर्षमा स्क्रिनिङ गरियो भने बच्न सकिन्छ।
एचआइभी संक्रमित बिरामीले २/३ वर्षको अन्तरमा यस्तो परीक्षण गर्नुपर्ने देखिन्छ। त्यस्तै, ३० देखि ५० वर्षको समयमा कम्तीमा २ पटक एचपिभी डिएनए परीक्षण गर्नुपर्छ।
सर्भाइकल क्यान्सरको सुरूआती चरणमा धेरै लक्षण देखिँदैनन्। आँखाले नदेखिने सानो क्यान्सर हुँदा पनि कुनै लक्षण नदेखिन सक्छ। त्यसैले नियमित स्क्रिनिङ गर्ने भनेर भनिएको हो।
जब ट्युमर पलाइसकेर त्यो क्यान्सरमा परिणत हुन्छ त्यसपछि अनियमित तरिकाले रगत जानु, शारीरिक सम्पर्क गर्दा रगत जानु,रोग बढ्दै गएपछि तल्लो भागमा दुखाइ हुने पिसाब र दिसामा विभिन्न खालका समस्या देखिने हुन्छ।
विकसित देशमा यसको समस्या नै कम हुन थालिसकेको छ। किनकी उनीहरूले आफ्ना धेरै बच्चाहरूलाई खोप लगाइसकेका छन् भने स्क्रिनिङ समेत प्रभावकारी भएकाले उपचार पनि प्रभावकारी रूपमा हुन्छ।
नेपाल जस्ता देशमा भने यसको परीक्षणको उपलब्धतामा समेत अभाव छ। जसले गर्दा सुरूआती चरणमा थाहा हुँदैन अनि रोगको उपचारमा पनि समस्या देखिन्छ।
सर्भाइकल क्यान्सरको उपचारका तीन चरण हुन्छन्।
उपचारको पहिलो चरण भनेको सर्जरी नै हो। सर्जरी गरेर रोग लागेको ठाउको अंग निकाल्न सकियो भने त्यसबाट राम्रो रिजल्ट आउँछ। अर्को उत्तिकै प्रभावकारी रेडियोथेरापी पद्धति हो। क्यान्सर अनुसार यसको उपचारको तरिका पनि फरक हुन सक्छ। त्यसैले यो रोगको उपचारको अर्को उपाय रेडियोथेरापी हो।
तेस्रो विधि भनेको किमोथेरापी हो। सर्भाइकल क्यान्सरमा किमोथेरापीको भूमिका धेरै हुँदैन।
यो क्यान्सरको सुरूआती चरण छ भने अपरेसन गर्ने अलि ढिलो भयो भने रेडियोथेरापी गरिन्छ। उपचारको क्रममा कसैलाई एउटा मात्र पद्धति र कसैलाई दुवै पद्धति जरूरी पर्न सक्छ।
(वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा.विजय चन्द्र आचार्य बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत छन्।)