जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।
जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस चलाउनुको साथै हवाई फायर समेत गरेको छ।
स्थिति तनावपूर्ण बनेपछि शुक्रबार बेलुका प्रहरीले सात राउण्ड हवाई फायर र २ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए।
‘सोनारपट्टिमा अवैध रुपमा चाँदीको कारोबार भइरहेको सूचना आएको थियो, सम्बन्धित निकायसँग समन्वय गरेर त्यहाँ जाँदा चाँदी बरामद गरेका थियौं, बिल बिजक ल्याउन सक्नुभएको थिएन,’ उनले भने, ‘सुनचाँदी व्यवसायी संघका अध्यक्षलाई समेत बोलाएर मुचुल्का गर्ने प्रक्रियामा नै थियौं, उच्छृंख भएर सुरेन्द्र भण्डारी भन्ने मान्छे आइपुग्नुभयो, आएर पुलिसलाई तानेर लछारपछार गरेर हंगामा गरेपछि दुईपक्षबीच झडप भयो।’
प्रहरीले बिल बिजक नभएको ७ किलो चाँदी बरामद गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनको भनाइ छ। राजश्व अनुसन्धानको कार्यालय पथलैयासँग समन्वय गरेर नै छापामारी गरिएको उनले बताए।
‘पसलको नाम पनि थिएन, भर्खरै खोलेको भनिएको छ, के कसो हो बाँकी अनुसन्धान राजश्वले गर्छ,’ उनले भने।
डिएसपी बमकै नेतृत्वमा प्रहरी टोलीले छापा हानेको थियो। धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ, अर्को एसपी जिल्ला आइपुगेका छैनन्।
नयाँ खुलेको व्यवसायमा छापामारी गरेर धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको व्यवसायीहरुको भनाइ छ। कालीगढकै काम गर्दै आएका ठाकुरले नयाँ ज्वेलर्स खोलेका हुन्।
धनतेरशको अवसर पारेर शनिबार ज्वेलर्सको उद्घाटन गर्ने तयारी भइरहेको थियो। उनीहरुले घटनामा दोषी प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन्।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले चाडवाडको समयमा व्यवसायीलाई आतंकित पार्ने काम नगर्नुस भनेर आग्रह गर्दा प्रहरीले पछाडिबाट आफ्नो टाउकोमा लाठी प्रहार गरेको बताए।
‘छापा हान्ने कुनै टोली थिएन, बल प्रयोग गरेर जर्बजस्ती सामान लैजान खोजियो, दिपावली छठको समयमा यसो नगर्नुस्, यदि गर्नुहुन्छ भने पनि संघका पदाधिकारी चाहियो, राजश्व अनुसन्धानका कर्मचारी हुनुपर्छ, भनेर आग्रह गर्यौं,’ उनले भने, ‘ तर क्राइमका सइ मनोज यादवले पछाडिबाट लाठी चार्ज गर्नुभयो, हवाई फायर र अश्रुग्यास हानेर लुटेरा शैलीमा चाँदी लगेका छन्।’
आफ्नो खुट्टा र ढाडमा समेत चोट लागेको उनले बताए। बिल बिजक नभएको भन्ने प्रहरीको आरोप सही नभएको उनको भनाइ छ।
‘पसलमा किन बिल बिजक हुँदैन ? उनीहरु खाली बिल बिजक छैन भनेर फसाउने काम गर्छन्,’ उनले भने, ‘धन तेरशको दिन उद्घाटन हुँदै थियो, अघिल्लो दिन आएर त्यसो गर्ने हो ?’
सम्बन्धित निकायलाई खबर नै नगरी प्रहरीले गएर कसैको व्यवसायमा त्यतिकै छापा हान्नु गलत भएको उनको भनाइ छ।