अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वअतिरिक्त सचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मिश्रासहित १४ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सेतोपाटीलाई जानकारी दिए।
मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, जनस्वास्थ्य अधिकृत दीपक अधिकारीविरूद्ध मुद्दा दर्ता भएको हो।
त्यस्तै, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, पध्मा मिश्र, जनस्वास्थ्य निरिक्षक संजयकुमार साह, म्याक्सिम ईन्कर्पेरिशन ट्रेडस प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरूद्ध मुद्दा दायर गरिएको हो।
मिश्रासहित १४ जनाले स्वास्थ्य सेवा विभागको म्यानोग्राफी मेसिन खरिद प्रक्रियामा १४ करोड ६ लाख ८५ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
मिश्रसहित १४ जनालाई भ्रष्टाचार गरे वापतको रकम बिगो कायम गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।
मिश्रा स्वास्थ्य सचिवको आकांक्षी थिइन्। प्रदीप पौडेल मन्त्री हुँदा उनलाई स्वास्थ्य सचिव नबनाएर डा. विकास देवकोटालाई बनाएका थिए।
साथै सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी थियो। तर अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउन लागेपछि मिश्रालाई स्वास्थ्य मन्त्री बनाइएको थिएन।
पढ्नुहोस् केही समयअघि सेतोपाटीमा प्रकाशित समाचार-
अख्तियारले संगीता मिश्राविरूद्ध छानबिन गरिरहेकाले स्वास्थ्य मन्त्रीमा उनको नियुक्ति रोकिने
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की स्वास्थ्य मन्त्रीमा उनको नियुक्ती अघि नबढाउने मनस्थितिमा पुगेकी छन्।
प्रधानमन्त्री कार्कीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गरेकी थिइन्। उनको नाम राष्ट्रपति कार्यालयसमक्ष पठाइएको पनि थियो।
मिश्रा मन्त्री बन्ने भनेर पत्रपत्रिकामा समाचार आउन थालेपछि अख्तियारले उनीविरूद्धको अनुसन्धान सकिन लागेको र केही समयमा मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएको स्रोतले बताएको छ। त्यसपछि उनको नियुक्ति प्रक्रिया अघि नबढ्ने अवस्था आएको हो।
‘प्रधानमन्त्री उहाँको नाम पुनर्विचार गर्नेपक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, 'मन्त्री नियुक्तिकालागि राष्ट्रपति कार्यालयमा गइसकेको उहाँको नाम आज कार्यालय खुलेपछि फिर्ता हुन्छ होला।'
प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित पाँच जना नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा आइतबार साँझ नै पठाएकी थिइन्।
सिफारिस गरिएका बाँकी चार जनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार छन्।
डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन्।
यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।
यसका लागि अतिरिक्त सचिवहरू डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो।
आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषदले स्वास्थ्य सचिव नियुक्त गरेकोमा डा. मिश्रले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी थिइन्।
डा. मिश्रा २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन्। त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन्।
फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्।
उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्।