भारतको केरलमा राष्ट्रपति द्रौपदी मुर्मु सवार हेलिकप्टर अवतरणका क्रममा हेलिप्याड भासिएको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार पथानामथिट्टा जिल्लाको प्रमादमस्थित राजीव गान्धी इनडोर स्टेडियममा हेलिकप्टर अवतरण हुँदा हेलिप्याडको कंक्रिट भासिएर हेलिकप्टरको पांग्रा फसेको हो।
प्रहरी र दमकलका कर्मचारीहरूले तत्काल हातैले धकेलेर हेलिकप्टर बाहिर निकालेका थिए।
बुधबार बिहान राष्ट्रपति मुर्मु सबरीमला मन्दिर दर्शनका लागि जाँदै थिइन्।
एक वरिष्ठ अधिकारीका अनुसार खराब मौसमका कारण राष्ट्रपति मुर्मुको हेलिकप्टर पम्बा नजिक निलक्कलमा अवतरण नगराउने निर्णय गरिएको थियो।
त्यसपछि स्टेडियममा अवतरण गराउने योजना बनेपछि मंगलबार राति हतारमा हेलिप्याड तयार गरिएको थियो। बिहानसम्म कंक्रिट पूरै नसुकेकाले हेलिकप्टर अवतरण गर्दा खाल्डो बनेर पांग्रा फसेको हो।
घटनामा कसैलाई चोटपटक लागेको छैन। राष्ट्रपति मुर्मु सुरक्षित रूपमा पम्बातर्फ प्रस्थान गरिसकेकी भारतीय सञ्चार माध्यमले जनाएका छन्।