काठमाडौं महानगरपालिकाले ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरेको छ।
हाइ मास्ट लाइट आवश्यकता देखिएका ७० वटा चोकमध्ये ६२ वटा चोकमा बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए।
उनका अनुसार ९ करोड ८५ लाख २२ हजार १४४ लागतमा बत्ती जडान गरिएको हो।
'आउँदो पुस ३० गतेसम्म काम सकाउनका लागि सम्झौता भएको थियो,' उनले भने, 'तिहारअघि नै सबै लाइट जडान गर्ने लक्ष्यसहित काम गरेका थियौं। जुन सफल भयो।'
६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिएको छ जसमा ६ वटा बत्ती जडान भएको छ।
यस्तै, ४१ वटा चोकमा १६ मिटर अग्ला पोलमा ८ वटा बत्ती छन्, जुन १ हजार वाट क्षमताका हुन्।
मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर चोक, तीनकुनेका तीन कुनामा एकएक वटा, अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश द्वार अगाडि र वहिर्गमन द्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरी घाट, चाबहिल चोक, चुच्चेपाटी लगायत चोकहरूमा हाइ मास्ट बत्ती जडान गरिएको छ।
यस्तै, महानगरले सडक बत्तीका लागि काम थालिरहेको महाशाखा प्रमुख नेपाली बताउँछन्।
'काठमाडौंमा रातको समयमा पनि निर्धक्क हिँड्न सक्ने वातावरणका लागि चाहिने प्रकाश व्यवस्था गर्न महानगरपालिकाले करिब ९० करोड रुपैयाँ लागतमा सडक बत्तीको व्यवस्था गर्दैछ,’ उनले भने, 'रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन महानगरले आधुनिक बत्ती जडान गर्न लागेको हो।'
यस्तै, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बत्ती राखिरहेको उनले बताए। त्यसका लागि सार्वजनिक खरिद प्रक्रियामार्फत् काम भइरहेको छ।
तस्बिरहरूः
-1761296136.jpg)
-1761296144.jpg)
-1761296144.jpg)
-1761296140.jpg)
-1761296135.jpg)
-1761296140.jpg)
-1761296135.jpg)