ढाड दुख्ने भनेको हाम्रो ओपिडीमा आउने साझा समस्या हो। एउटै पोजिसनमा लामो समय बसेर, ढाडलाई अप्ठ्यारो गरिराखेका कारण ढाड दुख्छ। त्यस्तै गाडी चालकहरूले पनि एउटै पोजिसनमा आफूलाई राख्दा समस्या हुन्छ। अर्को भनेको भारी चिज उठाएर हुन्छ। आफ्नो शरीरले थाम्न सक्ने भन्दा धेरै भारी उठाउँदा ढाड दुख्ने हुन्छ। लड्दाखेरी चोटपटक लाग्यो भने पनि ढाड दुख्छ।
त्यसैले ढाडलाई सजिलो हुनेगरी कसरी काम गर्न सकिन्छ भनेर मिलाउनुपर्छ। भारी सामान उठाउँदा सही तरिकाले भुइँमा बसेर सामान उठाउनु पर्छ। खराब बाटो छ भने गाडी तथा मोटरसाइकलको यात्रा गर्दा होसियारी अपनाउनु पर्छ। यो बाहेक शरीरलाई सुख्खा हुन नदिन पर्याप्त मात्रामा पानी पिउनु पर्छ। जीवनजल, पानी, फलफूल लगायत पनि खानु पर्छ। शरीरमा पानीको कमी भयो भने मांसपेशीले राम्रोसँग काम गर्न सक्दैन।जसले गर्दा मांसपेशी कडा हुन्छ अनि ढाड दुख्ने समस्या हुन्छ। त्यो बाहेक अरू समस्याले पनि ढाड दुख्छ। किड्नीमा ढुंगा भएर, प्यानक्रियाजमा केही असर परेर पनि ढाड दुख्छ। ढाड मक्किने, ढाडको हड्डी भाँचिने भएमा समेत ढाड दुख्छ।
ढाड दुखेको उपचार गर्दैगर्दा के कारणले हो भनेर पत्ता लगाउन जरूरी छ। प्रशस्त मात्रामा पानी पिउन जरूरी छ भने फलफूल र पोषणयुक्त खाना खान पनि जरूरी छ। अनि नियमित व्यायाम गर्नुपर्छ। शारीरिक रूपमा निष्क्रिय भइयो भने पनि ढाड दुख्ने समस्या हुन्छ। त्यही भएर पहिलादेखि काम गरिरहेकाहरूलाई ढाड दुख्ने समस्या कम हुन्छ। धेरै सुविधाले गर्दा मान्छेले बलको काम गर्न छोडेका छन् त्यसैले व्यायाममा जोड दिनुपर्छ। व्यायामको एउटा प्रक्रिया हुने भएकाले यसले ढाडलाई बलियो बनाउँछ। किनकि यसमा क्रमबद्ध रूपमा व्यायाम गराइन्छ।
अहिले मान्छेहरू हिँड्न समेत कम गरेका छन्।
बिहान उठेर हामीले व्यायाम गर्ने लगायतका शारीरिक गतिविधि नगरेकाले ढाड दुख्ने समस्या हुँदै गएको हो। मोबाइल हेर्ने, मोबाइलमै गेम खेल्ने, एउटै पोजिसनमा बसेर काम गर्ने कारणले युवा अवस्थामा मात्र होइन साना बच्चाहरूलाई समेत ढाड दुख्ने समस्या भइरहेको छ।
ढाड दुखेर कोही आयो भने हामीले सुरूमा त नदुख्ने औषधि नै दिन्छौं। दुई दिन जस्तो सुत्न भन्छौं। दुई दिनभन्दा तीन दिन सुत्नसाथ मांसपेशी कमजोर हुन्छ। दुई दिनमा पनि ठीक भएन भने हामीले अन्य परीक्षण गराउँछौं।
कुरकुरे हड्डी फुटेर नसा च्यापियो कि भनेर एमआरआई गर्ने, किड्नीमा ढुंगा छ कि भनेर भिडिओ एक्सरे गर्ने लगायतका परीक्षण हुन्छन्।
पिसाबमा कुनै संक्रमण छ कि भनेर पिसाबको परीक्षण, ढाडमा कुनै संक्रमण छ कि भनेर रगतको परीक्षण गरिन्छ। अर्थात् बिरामीलाई कस्ता लक्षण देखिएका छन् त्यसका आधारमा परीक्षण गराइन्छ।
ढाड दुख्नुको विभिन्न कारणबाट जोगिने भनेको व्यायाम नै हो। दैनिक १५ देखि २० मिनेट व्यायाम गर्यो भने ढाडको समस्या कहिल्यै आउँदैन। मैले बिरामीलाई यही भनेको हुन्छु। तर प्राय: बिरामीहरू व्यायाम नै गर्दैनन्। हामीले यहाँ सिकाएको व्यायाम बिरामीले नियमित गर्दैनन्। जसले गरेको छ उनीहरू ढाड दुखेर आउन परेको छैन।
हप्तामा ५ दिन मात्रै व्यायाम गर्दा पनि पर्याप्त हुन्छ। तर एक दिन गर्ने अनि महिना दिन गरिएन भने हुँदैन। हामीले व्यायाम गर्ने भन्दैमा जथाभावी गरेर हुँदैन। त्यसको विभिन्न चरण हुन्छ।
ढाड दुखेर लापरबाही गरेर आउनेहरू पनि हुन्छन्। त्यस्तो अवस्थामा ढाड नै चलाउन नसक्ने भएर बिरामी आउँछन्।
कतिपयले ढाड दुख्यो भनेर मालिस गरेको पाइन्छ। ढाड नदुखेको बेला मालिस गर्नु ठीक हो। तर ढाड दुखिरहेको बेला मालिस गर्यो भने त तुरून्तै इमर्जेन्सीमा जानुपर्ने स्थिति हुन्छ। ढाड मालिस गर्दासम्म ठीक हुन्छ।मा लिस गर्न छोड्नसाथ यति धेरै दुख्छ कि तुरून्तै इमर्जेन्सीमा आइहाल्न पर्छ।
(ढाड दुख्नबाट कसरी जोगिने, ढाड दुख्दा के गर्ने/के नगर्ने लगायतका विषयमा केन्द्रित रहेर हामीले हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.शिवचन्द्र अमात्यसँग भिडिओ कुराकानी गरेका छौं।)