रूकुम पश्चिमको बाफिकोट गाउँपालिका-७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृतक सात जनामध्ये ६ जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट– २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली छन्। मृतक एक जना महिलाको भने पहिचान खुल्न बाँकी छ।
जिल्ला प्रहरी प्रवक्ता हरि पुनका अनुसार घाइते १० जनाको पनि परिचय खुलिसकेको छैन।
घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरी निरीक्षक पुनले बताए।
बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप स्यालाखाँदीबाट मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी निरीक्षक पुनले बताए।
जिप गाडी सडक बाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण खुलिसकेको छैन।