बाँकेमा एक जना पुरूषको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गुरूवागाउँ नमूना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शव शनिबार बिहान साढे सात बजेतिर जंगलमा फेला परेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार रिम्ना समुदायक वनभित्र शनिबार बिहान खोजी गर्ने क्रममा खत्रीको शव फेला परेको हो।
एउटा खुट्टा छिनालेको अवस्थामा खत्रीको शव फेला परेको स्थानीयले बताएका छन्।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रडम्मर पालसहितको प्रहरी टोली पुग्दैछ।
घर परिवारका अनुसार खत्री घाँस काट्न भनेर शुक्रबार रिम्ना सामुदायिक वनमा गएका थिए। उनी फर्केर नआएपछि स्थानीयले खोजी गर्ने क्रममा बिहान शव फेला पारेका हुन्।
स्थानीयले बाँके राष्ट्रिय निकुञ्जको बाघको आक्रमणबाट खत्रीको मृत्यु भएको बताउँदै आएका छन्। तर, प्रहरी प्रशासन भने बाघ वा चितुवा केको आक्रमणबाट खत्रीको मृत्यु भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने बताउँछ।
स्थानीयले सूचना दिँदा पनि अहिलेसम्म पनि बाँके राष्ट्रिय निकुञ्ज घटनास्थल नपुगेको भन्दै आक्रोश व्यक्त गरेका छन्।