भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरूद्ध सर्वोच्चमा रिट परेको छ।
आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरुलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर भएको हो।
विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी आयोगका सदस्य छन्। माअधिवक्ता विपिन ढकालले आइतबार आयोग र सबै पदाधिकारीविरूद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्।
पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अबलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको रिटमा उल्लेख छ।
अध्यक्ष कार्कीले आफैले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार शेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्त र निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको पनि रिटमा उल्लेख गरिएको छ।
उनीहरूलाई निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग गरिएको छ।
रिट गम्भीर राष्ट्रिय सरोकारको विषयको रिट भएकाले इजलासबाट यथाशीघ्र चाँडो सुनुवाइ हुने गरी व्यवस्था गर्न समेत माग गरिएको छ।