कुटपिट गरी लुटपाट गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ।
आइतबार मकवानपुर हेटौंडा-५ का २१ वर्षीय अर्जुन श्रेष्ठ, झापा झिलझिलेका २० वर्षीय सुस्मिता महर्जन भन्ने सिर्जना राई र रामेछापका २२ वर्षीया बिनिता मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार रानीपोखरीस्थित राष्ट्रिय नाचघरअघि सडकपेटीमा पैदलयात्रुलाई कुटपिट गरी लुटपाट गरी फरार भएको भन्ने सूचना प्रहरीले पाएको थियो।
सोही आधारमा उनीहरूको खोजी गरेको थियो।
प्रहरीले उनीहरूको साथबाट एउटा सुनको सिक्री, एउटा मोबाइल र दुई हजार २३५ रूपैयाँ समेत बरामद गरेको जनाएको छ।
उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप लिई अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।