बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर नेपालसम्म पर्ने देखिएको छ।
यसले पूर्वी भेगमा सबैभन्दा बढी असर गर्ने देखिएको मौसमविदले बताएका छन्।
मोन्था चक्रवातले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो। मंगलबार भारतको आन्ध्र प्रदेशको काकिनाडा नजिक आइपुग्ने अनुमान गरिएको छ।
यो चक्रवात ९०–१०० किलोमिटर प्रतिघन्टाको वेगमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन।
यसले भारतको आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, तेलंगना, केरला, छत्तीसगढ, पश्चिम बंगाल मात्र होइन नेपालका कोशीदेखि गण्डकी प्रदेशसम्मै असर पुर्याउने देखिएको छ।
त्यसो त अहिले नेपालको मौसम प्रणालीमा बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरब सागरमा रहेको तल्लो वायुमण्डलले नेपालभरी बादल ल्याइरहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। तर अहिलेसम्म वर्षा भने भएको छैन।
उनका अनुसार भोलिदेखि पश्चिमी नेपालमा वर्षा हुने र बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ।
यस प्रणालीको प्रभावले सोमबार गते रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
यस पटकको सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जन–जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने विभागले जनाएको छ।
यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि विभागले बताएको छ।