नेपालका १० जना उच्च पदस्थ व्यक्तिहरूको ज्यान मार्ने धम्की दिने प्रकाश पाठकविरूद्ध चार वटा मुद्दा रहेको खुलेको छ।
प्रहरीले आपराधिक पृष्ठभूमि हेर्दा उनीविरूद्ध चार वटा मुद्दा पहिले नै दर्ता भएको देखिएको हो।
पहिलो मुद्दा उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा दर्ता भएको देखिएको छ। २०७० असार ९ मा उनीविरूद्ध हो-हल्ला गरी सवारी आगमनमा अवरोध पुर्याएको मुद्दा थियो।
त्यस्तै त्यही बेला उनीविरूद्ध सार्वजनिक अपराधको कसुरमा मुद्दा दर्ता भएको प्रहरी स्रोतले बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि उनीविरूद्ध दुई वटा मुद्दा रहेको देखिएको छ।
ठगी विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा दुई वटा मुद्दा देखिएका छन्।
पहिलो मुद्दा २०७६ जेठ २३ गते दर्ता भएको थियो। त्यतिबेला जाहेरवालाले पाउनुपर्ने रकम प्राप्त भई मिलापत्र भएको देखिएको थियो।
अर्को मुद्दा भने २०८० मंसिर २६ गते दर्ता भइ अनुसन्धान गरेको देखिएको हो। यस मुद्दामा भने पाठक फरार नै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
‘यो मुद्दा अझै पनि अदालतमा विचाराधीन अवस्था नै छ। साक्षी बुझ्ने लगायतका कामकारबाहीहरू भइरहेका छन्,’ उनले भने, ‘उनी अझै फरार नै देखिएको छ।’
उनीविरूद्ध प्रहरीमा ६ जनाले जाहेरी दिएका थिए। ६ जनाको ६५ लाख ठगी गरेको आरोप छ।
‘हामीसँग विदेश पठाउने भनेर पैसा उठाए। तर पैसा उठाएर पनि विदेश पठाएनन्। बरू उल्टै सम्पर्कमा नआई भागेर हिँडेका छन्। त्यसैले कारबाही गरिपाऊ,’ उनीहरूको जाहेरीमा भनिएको छ।
उनले सामाजिक सञ्जालमा यसरी लिएको रकम आफूले हतियार र सार्प सुटरलाई दिनलाई प्रयोग गरेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिबाट चार करोड रुपैयाँ उठाएको दाबी गरेका छन्।
‘मैले आफू कन्सल्टेन्सीको सञ्चालक हुँदा युरोप र न्यूजिल्यान्ड लगायत भिसाका लागि चार करोड रुपैयाँ उठाएको थिएँ,’ उनले भनेका छन्, ‘भिसा रिजेक्ट भएकाहरूको दुई करोड रुपैयाँ फिर्ता गर्नुपर्ने छ। म फिर्ता गर्छु र गर्नै पर्छ।’
उनले थपे, ‘सबै रकम मैले हतियार र सार्पसुटरमा लगानी गरेको छु। म सबै मेरा सेवाग्राहीहरूलाई केही महिना कुर्न अनुरोध गर्छु। म तपाईंलाई खुशी बनाउनेछु।’
आजमात्रै उनले प्रेम राईको नाम उल्लेख गर्दै २४ घण्टाको अल्टिमेटम बाँकी रहेको बताएका छन्। उनले राईले राजीनामा दिनुपर्ने, राजीनामा नदिए हत्या गर्ने धम्की दिँदै आएका छन्।
अख्तियार प्रमुख राईसहित १० जनालाई धम्की दिएको आरोपमा पाठक प्रहरीको वान्टेड लिस्टमा छन्।
उनलाई प्रहरीको विभिन्न युनिटले खोजी गरिरहेको छ।
उनले अघिल्लो शनिबार इमेलमार्फत १० दिनमा १० जनाको हत्या गर्ने भनेर इमेल पठाएका थिए। उनी अझै पनि सामाजिक सञ्जालमा सक्रिय समेत देखिएका छन्।
पाठकले आफू 'ह्याप्पी पाठक इन्टरटेनमेन्ट, एनआइएसडीको सञ्चालक समेत रहिसकेको दाबी गरेका छन्।