हाम्रो मुटु विद्युतीय तरंगले चलिरहेको हुन्छ। जब त्यो विद्युत रोकिन्छ अनि हाम्रो मुटुको चाल बन्द हुन्छ। जब मुटुको धड्कन बन्द हुन्छ त्यसलाई नै कार्डियक अरेस्ट भनिन्छ।
यसको परिभाषाभन्दा पनि यसलाई कसरी चिन्ने भन्नेमा हामी जानुपर्छ।
यसका तीन वटा संकेत हुन्छन्। एउटा त मान्छे अचेत हुन्छ, होसमै हुँदैन अनि दोस्रो उसले सास फेर्दैन।र तेस्रो उसको धड्कन हुँदैन।
तर कार्डियक अरेस्ट चिन्नको लागि दुई कुरा जाने हुन्छ। अचेत भएको र सास नफेरेको अवस्था छ भने कार्डियक अरेस्ट भएको भनेर बुझ्नुपर्छ।अर्थात् कार्डियक अरेस्ट भनेको यही हो।
कार्डियक अरेस्ट हुने मुख्य कारण मुटुको नशामा केही जमेर, रगत नगएर मुटुलाई नै रगत नपुगेका कारण मुटु रोकिने हुन्छ। यो पहिलो कारण हो तर यसले मात्र कार्डियक अरेस्ट हुँदैन। कार्डियक अरेस्ट बच्चा, युवा सबैलाई हुन सक्छ। जस्तो खेल्दै गर्दा खेलाडीलाई समेत हुन्छ। 'टक्सिस', 'ट्रमा', 'पोइजनिङ' लगायतका धेरै कारणले कार्डियक अरेस्ट हुन सक्छ।
सबैभन्दा पहिला कोही व्यक्ति अचेत हुनसाथ कार्डियक अरेस्ट भयो कि भनेर सोच्नुपर्छ। हाम्रो देशमा के छ भने पानी ल्याऊ, पानी ल्याऊ भनिन्छ त्यो पानीले कसैलाई पनि बचाउनेवाला छैन भनेर बुझ्ने निकै कम हुन्छन्। जस्तो केही समय पहिला भैरहवामा भएको एउटा कार्यक्रममा बोल्दा बोल्दै मृत्यु भएको खबर आयो। खासमा उहाँलाई कार्डियक अरेस्ट भएको थियो। त्यहाँ कसैले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिएको भए ठिक हुन सक्थ्यो। त्यसतर्फ कसैको ध्यान गएन।
कात्तिक १३ गते राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए।
कार्डियक अरेस्ट भएको चिन्ने दुई तरिका हुन्छन्। सुरूमा ढलेको व्यक्तिलाई के छ, के छ भन्दै झक्झक्याउनु पर्छ। बोलेन या चलमलाएन भने अचेत भयो भनेर बुझ्नुपर्छ। त्यसपछि १० सेकेण्ड लगाएर सासलाई सुघ्न सकिन्छ अनि छाती तलमाथि गरेको हेर्न सकिन्छ। कहिलेकाहीँ रक्सी खाएर ढलेका मान्छे पनि अचेत हुन्छन् तर सास फेरिरहेका हुन्छन्। उनीहरूलाई सिपिआर गर्न भएन।
त्यसैले सास फेरे/नफेरेको निश्चित गर्नुपर्छ। यी दुई कुरा छन् भने कसैलाई मद्धतको लागि पठाउनु पर्छ भने एम्बुलेन्स बोलाउनु पर्छ अनि त्यही बेला सिपिआर दिनुपर्छ। सिपिआर दिँदा छातीलाई दबाब पुग्नुपर्छ।
तपाईंको अघि कोही व्यक्ति ढल्यो अनि उसलाई तत्काल सिपिआर दिनुभयो भने त्यो व्यक्तिलाई बचाउन सक्ने संभावना ४० प्रतिशतसम्म हुन्छ।
यस्तो बेला चाहिने भनेको स्वचालित बाहृय डिफिब्रिलेटर (एइडी) मेसिन हो। हाम्रो देशमा यसको उपलब्धता निकै कम छ। कतिपय अस्पताल अनि धेरै एम्बुलेन्समा समेत यो सुविधा हुँदैन। यो मेसिन सहज तरिकाले उपलब्ध भयो भने अस्पताल बाहिर पनि कार्डियक अरेस्ट भएका मानिसलाई बचाउन सक्ने संभावना रहन्छ।
कोही व्यक्ति बेहोस हुनेगरी ढलेको छ तर अचेत छैन अनि त्यस्ता व्यक्तिलाई सिपिआर दिइयो भने के गर्ने भन्ने हुनसक्छ। सिपिआर दिँदा यति जोडले दिइन्छ कि कोही व्यक्ति बेहोस मात्र भएको रहेछ भने उसले तपाईंलाई उठेर पिट्न सक्छ। सिपिआर दिने भनेकै जोडले थिचेर हो।
त्यसैले हाम्रो देशमा सिपिआर दिने क्रममा छातीमा थिचेर मृत्यु भयो भनेर कति चिकित्सकले पिटाइ समेत खाएका छन्। तर उसको मृत्यु थिचेर होइन कि कार्डियक अरेस्टका कारण मृत्यु भएको भनेर धेरैले बुझेका हुँदैनन्।
सिपिआरको मान्यता नै के हो भने जति जोडले छाती थिच्न सक्यो, त्यति राम्रो हुन्छ। मैले त विद्यार्थीलाई तिमीले करङ भाँचिने गरी सिपिआर दिएको रैनछौ भने तिमीले राम्रोसँग काम गरेनौ भनेर पढाउँछु।
अर्थात् सिपिआर दिँदै गर्दा करङ भाँचिनु ठूलो कुरा होइन। किनकि भाँचिएको करङ बनाउन सकिन्छ तर मुटु फर्किँदैन।
कोही अचेत भएर लडेको संकेत छ भने सिपिआरू सुरू गरिहाल्नुपर्छ। यदि उसले सास फेरेको रहेछ भने एक दुई पटक थिचेपछि प्रतिक्रिया जनाइहाल्छ। तर प्रतिक्रिया नजनाउँदासम्म छोड्न हुँदैन।
सबै खालका सुविधा उपलब्ध भएको अवस्थामा कार्डियक अरेस्ट भएका व्यक्तिलाई बचाउने सक्ने सम्भावना पनि बढ्दै जान्छ तर हाम्रो जस्तो देशमा यो शून्य जस्तै छ। अस्पतालभन्दा बाहिर कसैको कार्डियक अरेस्ट भयो भने त बाच्ने सम्भावना शून्य हो। यसलाई २/३ प्रतिशतसम्म लैजाउन सकिन्छ कि भनेर हामीले काम गरेका छौं। तर यसलाई १०/२० प्रतिशतमा पुर्याउनको लागि धेरै नै काम गर्नुपर्ने हुन्छ।
अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको एकातिर सिपिआर दिन जानेका व्यक्ति कम छन् भने अर्कोतिर कानुनले उसलाई संरक्षण गर्दैन। जबसम्म असल नियतले सिपिआर दिनेलाई जोगाउने कानून बन्दै तबसम्म काम गर्न गाह्रो हुन्छ। हामीले यसका लागि पनि प्रयास गरेका छौं।
(इमर्जेन्सी फिजिसियन डा. रामु खरेल अमेरिकाको ब्राउन विश्वविद्यालयका उपप्राध्यापक हुन्। 'हेल्थ एड्भान्समेन्ट प्रोग्राम टु सर्भ अल, नेपाल (हाप्सा नेपाल)' नामक एक गैरसरकारी संस्थाका संस्थापक र प्रमुख रणनीतिकार खरेल उनी नेपालमा 'सिपिआर' र 'चोकिङ' बारे पनि समुदायस्तरमा काम गर्दैछन्। सेतोपाटीका लागि सन्जिब बगालेले उनीसँग भिडिओ कुराकानी गरेका छन्।)