अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन्।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए।
उनले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए।
उनले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत बताए।
‘सरकारले बनाएका नीतिमा सधैं बुँदा फेरेको देखिन्छ। हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्ने अभ्यास गरेछौं र लागत बढाइरहेका छौं। कहिले अध्यागमनले, कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेका छौं। तर एक-दुई महिना अडियो होला. कोही पनि नेपालमा अडिएनछ। विमानस्थलमा ढोका थुनेर कोही अडिँदो रहेनछ। हामीले युवाहरूलाई स्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनै पनि युवालाई रोकेर मात्र हुँदैन। यसले नेपालको अध्यागमनको इकोसिस्टले लय गुमाएको अवस्था थियो, छ।’
-नेपाल न्युज एजेन्सी