स्विट्जरल्याण्डको क्रान्स-मोन्टानामा नयाँ वर्षको पार्टी चलिरहेको एक बारमा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ।
क्रान्स-मोन्टानाको प्रसिद्ध स्की रिसोर्टस्थित ले कन्स्टेलेसन नाम गरेको बारमा 'न्यू इयर इभ'को पार्टी चलिरहँदा अकास्मात आगलागी भएको थियो।
ठूलो भिडभाड रहेको समयमा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु र ११५ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
घाइतेहरु अधिकांशको अवस्था पनि गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
आगलागी राति करिब साढे १ बजे सुरू भएको थियो।
स्थानीयका अनुसार उक्त बार किशोर–किशोरीहरूबीच निकै लोकप्रिय थियो।
आगो फैलिनासाथ बारभित्र अफरातफरी मच्चिएको र मानिसहरू ज्यान जोगाउन बाहिर निस्कन दौडिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
रोयटर्सले प्रमाणित गरेको भिडियो फुटेजमा भवनभित्रबाट तीव्र रूपमा आगो फैलिएको देखिन्छ।
स्थानीय क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार मृतकको संख्या अझै पुष्टि प्रक्रियामा छ। घाइतेमध्ये धेरैलाई गम्भीर जलन भएको छ, जसका कारण पहिचान गर्न कठिनाइ भइरहेको छ।
इटालीका अधिकारीहरूले ६ जना इटालियन अझै बेपत्ता रहेको र १३ जना अस्पतालमा उपचाररत रहेको बताएका छन्।
फ्रान्सेली टेलिभिजन बीएफएम टीभीसँग कुरा गरेका दुई युवतीले बेसमेन्टतर्फ ‘जन्मदिनमा प्रयोग हुने फाउन्टेन क्यान्डल’ काठको छत नजिक राख्दा आगो सल्किएको दाबी गरेका छन्। उनीहरू साँघुरो सिँढी हुँदै बाहिर निस्कन सफल भए पनि केही मिनेटमै आगो भुइँतलासम्म फैलिएको बताएका छन्।
स्थानीय अभियोजक बिएत्रिस पिलूदले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको बताएकी छन्। प्रारम्भिक रूपमा ठूलो आगलागीपछि विस्फोटजस्तै अवस्था सिर्जना भएको हुन सक्ने आशंका गरिएको छ।
बारमा विभिन्न देशका नागरिक सहभागी रहेको बताइएको छ।
फ्रान्सका ८ जना नागरिक बेपत्ता रहेको फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले स्विस समकक्षीसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरेका छन्।
केही घाइतेलाई फ्रान्सका अस्पतालमा सारिएको छ भने जर्मनी र इटालीले पनि उपचारमा सहयोग गर्ने बताएका छन्।
घटनास्थल वरपर सडक सिल गरिएको छ र फरेन्सिक टेन्ट राखेर अनुसन्धान भइरहेको छ।
बिहीबार साँझ सयौँ मानिसले घटनास्थल नजिक फूल र मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।