अपांगता भएका किशोरकिशोरी तथा युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सेवामा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यले आज आयोजित एक कार्यशालामा सरोकारवालाहरूले नीतिगत सुधार, सेवा प्रदायकको क्षमता विकास तथा संरचनागत सुधारमा जोड दिएका छन्।
कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य सेवा प्रदायक, अपांगता भएका व्यक्तिहरूका संस्था, विकास साझेदार तथा युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड नेसन्स पपुलेसन फन्ड (युएनएफपिए) की जी सन पार्कले समावेशी स्वास्थ्य सेवा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै अपांगता भएका युवाहरूका लागि सेवा पहुँचमा अझै पनि थुप्रै चुनौतीहरू विद्यमान रहेको बताए।
कार्यक्रममा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेभेलप्मेन्ट सेन्टरकी प्रज्ञा पोखरेल (परामर्शदाता) ले धनुषा र रूपन्देही जिल्लामा गरिएको अध्ययनका निष्कर्षहरू सार्वजनिक गर्दै नीतिगत व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको औंल्याइन्।
उनका अनुसार अपांगता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचमा जानकारीको कमी, भौतिक पूर्वाधारको अभाव, गोपनीय परामर्श कक्षको कमी, सञ्चार सम्बन्धी कठिनाइ, प्रशिक्षित जनशक्तिको अभाव, आर्थिक समस्या तथा यातायातका अवरोध प्रमुख चुनौतीका रूपमा रहेका छन्।
अध्ययनले स्वास्थ्य संस्थाहरूमा सांकेतिक भाषा दोभाषे र ब्रेल सामग्रीको अभाव, सेवा प्रदायकको व्यवहार र दृष्टिकोण, तथा विवाहपूर्व यौन तथा प्रजनन स्वास्थ्य सेवा लिनु सामाजिक रूपमा अपयश ठानिने प्रवृत्तिले पनि सेवा उपयोगमा बाधा पुर्याएको देखाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाकी प्रतिनिधि शर्मिला दाहाल पौडेलले उक्त अनुसन्धानले नीति निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताउँदै अपांगतामैत्री सेवा प्रवाहका लागि बजेट वृद्धि, क्षमता विकास र सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरिन्। साथै, उनले स्वास्थ्य संरचनाहरूलाई क्रमशः अपांगतामैत्री बनाउने काम अघि बढिरहेको जानकारी दिइन्।
कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले सेवा लिन जाँदा भोगेका वास्तविक अनुभवहरू साझा गरेका थिए। उनीहरूले स्वास्थ्य संस्थामा गोपनीयताको अभाव, सेवा प्रदायकको असंवेदनशील व्यवहार तथा उचित जानकारीको कमीका कारण सेवा लिन हिच्किचाउने अवस्था रहेको बताएका छन्।
युएनएफपिएका युवा तथा बृहत्तर यौनिकता शिक्षा कार्यक्रम विश्लेषक अभिराम रोयले कार्यशालाबाट प्राप्त सुझावहरूलाई नीति तथा किशोरमैत्री स्वास्थ्य सेवा रणनीतिमा समावेश गरिने बताए।
कार्यक्रमको समापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी बाला राईले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार गर्ने र अभिभावक लक्षित कार्यक्रम विकास भइरहेको जानकारी गराउँदै यस्ता पहलहरू सरकारसँग समन्वय गरी अघि बढाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रमले अपांगता भएका युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवामा समान र सम्मानजनक पहुँच सुनिश्चित गर्न नीतिगत कार्यान्वयन सुदृढीकरण, सेवा प्रदायकको क्षमता अभिवृद्धि तथा संरचनागत सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।