लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वको दुर्गम गाउँमा नेपाली सेनाले मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
‘चण्डी दल गण’ रूकुम पश्चिमले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मा गाउँमा शिविर सञ्चालन गरेक हो।
विपन्न सर्वसाधारणलाई लक्षित गरेर सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई २४ सर्वसाधारणले सेवा लिएका छन्।
चण्डीदल गणका गणपति प्रमुख सेनानी विनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यका साथ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
‘ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रूपले पछाडि परेका गरिब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य सहित शिविर सञ्चालन गरिएको हो,’ गणपति श्रेष्ठले भने, ‘शिविरमा नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग सम्बन्धी समस्या भएकाहरूले लाभ लिनु भएको छ।’
त्यस्ता बिरामीलाई उपचार, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको उनले बताए।
चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्रालि रूकुम पश्चिम, रूकुम पूर्वजिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय रूकुम पूर्व र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको गणपति श्रेष्ठले जानकारी दिए।
गाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा स्थानीय सर्वसाधारण खुसी थिए।
पेल्माको नमूना आमा समूहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सक सहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेर सेनाले सर्वसाधारणको मत जित्ने काम गरेको बताइन्।
शिविरबाट आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोग पालेर बसेका सर्वसाधारण निमुखा जनताले गाउँमै सेवा पाउँदा स्थानीय खुसी बनेको उनले बताइन्।
त्यस क्षेत्रमा यातायात सुविधा नहुनु, अशक्त र जेष्ठ नागरिक कठिन भूगोलका कारण बाहिरका अस्पताल जान नसक्नुले गर्दा पीडा सहेर बस्नु परेको उनले बताइन्।
नि:शुल्क स्वास्थ्य शिविरका लागि श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा मेडिकल टोली परिचालित थियो। शिविरमा डा. भण्डारी, डा. दीपक पुन, डा.कष्ण खराल, डा. विजय बस्नेत लगायतको स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थय परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरेका थिए।
सेनानी सुष्पन कटुवाल र पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत ध्रुव बिक लगायतले दुर्गम गाउँमा नेपाली सेनाको नेतृत्वमा गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट स्थानीय खुसी भएको बताए।