घोराहीबाट लागुऔषध ब्राउन सुगर सहित पाँच जना पक्राउ परेका छन्।
दुई पुरूष र तीन महिला गरी पाँच जना प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का २० वर्षीय सौरव वली, घोराही–१३ की २८ वर्षीया सृजना चौधरी, घोराही–४ मा घर भई घोराही–१३ मा बस्दै आएका २६ वर्षीय विशाल विक र तुलसीपुर उपमहानगरपालिका–६ घर भई घोराही–१३ बस्दै आएकी १८ वर्षीया यस कुमारी नेपाली र तुलसीपुर–६ घर भई घोराही–१३ बस्दै आएकी २४ वर्षीया मिना नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घोराही उपमहागरपालिका–१५ स्केट पार्क नजिक लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, नेपाली नगद रुपैयाँ, सुन जस्तो देखिने पहेँलो धातु र मोबाइल लगायतका सामग्री बरामद गरेको थियो।
प्रहरी निरीक्षक बस्नेतका अनुसार उनीहरूको साथबाट १८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यस्तै, उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातु १६.२ लाल पनि बरामद भएको प्रहरी निरीक्षक बस्नेतले बताए।
शरीर खानतलासीका क्रममा उनीहरूको साथबाट नगद रुपैयाँ ४८ हजार ७२५ पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत घोराहीबाट लागुऔषध सम्बन्धी कसूरमा १० दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार यो गिरोहले सुरूमा सुन चोरी गर्ने र त्यसपछि आगुऔषधमा त्यो रकम लगाउने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।
साथै प्रहरीले चैत १ गतेदेखि ११ गतेसम्म २० जना फरार प्रतिवादी पनि पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयका लागि उनीहरूलाई ११ महिना १८ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। पक्राउ परेकाहरूबाट २७ हजार ७५० रुपैंया राजश्वपनि संकलन भएको छ ।
यो अबधिका दाङ प्रहरीले खोला तथा नदी जन्य पदार्थ चोरी कार्यमा संलग्न ११ वटा ट्रयाक्टर पनि नियन्त्रणमा लिएको छ । ती सवारी साधनको कारबाही बाट २ लाख ९४ हजार ८ सय ७२ रुपैंया राजश्व संकलन भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।