कपिलवस्तु प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ।
कपिलवस्तु नगरपालिका–४ का २६ वर्षीय राज भनिने दुर्गेश यादव र कपिलवस्तु–२ का २२ वर्षीय पवनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक शान्तिमा खलल पुर्याएको सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
स्थानीय प्रशासनबाट बुधबार पाँच दिनको म्याद थप भई उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
चैत ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ बर्गदवास्थित काली मन्दिरमा ढुंगामुढा गरी क्षति पुर्याइएको थियो।
सोही विषयमा दुई समुदायका बीचमा विवाद सृजना भएको थियो। सो विवादका कारण कपिलवस्तु नगरपालिका–४ कोदहवा चोकमा गुडिरहेको मोटरसाइकलमा सवार मानिसलाई रोकी त्यसमाथि तोडफोड हुनुका साथै मोटरसाइकल चालकमाथि लाठी, हेलमेट, बाला तथा मुक्काले कुटपिट गरिएको थियो।
त्यस क्रममा चालकमाथि कुटपिट हुनुका साथै मोटरसाइकल तथा मोबाइलमा पनि क्षति पुगेको थियो।
त्यो घटनापछि ५/६ जनामध्ये दुई जनाको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सिंहले बताए। जसका कारण विवादले उग्ररूप लिन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू समेत लगाउनु परेको थियो।
त्यस्तै, यही घटनामा संलग्नमध्ये थप दुई जनालाई विद्युतीय अपराध कसुरमा पक्राउ गरी अनुसन्धान भइरहेको छ। जसमा बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउ र कपिलबस्तु नगरपालिका – १ का २१ वर्षीय जितेन्द्र कहार छन्।
उनीहरूमाथि विभिन्न जातजाति र सम्प्रदाय बीचको सु–सम्बन्धलाई खलल पार्ने, घृणा वा द्वेष फैलाउने कार्य गरेकोमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा संलग्न रहेको अभियोगसहित स्थानीय प्रशासनले नाउलाई पाँच दिन र कहारलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी सिंहले जानकारी दिए ।