सिजनल भिसामा दक्षिण कोरिया पठाइदिने भन्दै रकम असुल्ने व्यक्ति पक्राउ परेका छन्।
लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेसनल प्रालिका ४७ वर्षीय जगत गुरूङ पक्राउ परेका हुन्।
उनलाई १ लाख रूपैयाँ लिँदै गर्दा अध्यागमन विभागले बिहीबार नियन्त्रणमा लिएको हो।
उनले अध्यागमनको सेटिङमा मात्र सिजनल भिसामा जान मिल्छ भन्दै यात्रुहरूसँग पैसा असुल्ने गरेको विभागमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानको क्रममा रकम असुल्दै गर्दा नियन्त्रणमा लिएको अध्यागनमका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
उनका अनुसार ६ महिनादेखि ८ महिनाका लागि कोरियामा कामदार पठाउने गरी विभिन्न स्थानीय तहहरूले सम्झौता गरेका थिए। सामान्यता एक वर्षभन्दा कम अवधिको भिसामा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिँदैन।
तर अध्यागमनले सहज प्रस्थान अनुमति दिँदै आएको छ। त्यही बहानामा उनले पैसा असुल्ने गरेको प्रवक्ता ढकालले जानकारी दिए।
उनीविरूद्ध थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं बुझाएको ढकालले बताए।