दाङमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। वन कार्यालयका एक जना अधिकृत पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा बिहीबार बेलुका दाउरा र रड प्रहार गरी २८ वर्षीया कमला वलीको वीभत्स हत्या भएको थियो।
हत्या आरोपमा उनका ३६ वर्षीय श्रीमान गोपाल वली पक्राउ परेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ।
गोपाल डिभिजन वन कार्यालय वीरगंजमा लेखा अधिकृत हुन्।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता बाबुराम बस्नेतका अनुसार बिहीबार बेलुका करिब ६ बजेतिर घरभित्रै वन अधिकृत गोपालले श्रीमती कमलामाथि आक्रमण गरी सक्त घाइते बनाएका थिए। गम्भीर अवस्थाकी कमलालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो।
उपचारका क्रममा बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए।
गोपालले श्रीमती कमलाको हत्याको कारण प्रहरी समक्ष खोलेका छैनन्। यद्यपि प्रारम्भिक बयानका क्रममा उनले घरको माथिल्लो तलाको भान्सा कोठामा भएको भनाभनका क्रममा आफूले आवेगमा आई दाउरा रड लगायतका वस्तुले आक्रमण गरी हत्या गरेको स्वीकार भने गरेको प्रहरी अधिकारीले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आपसी शंका आशंकाका कारण केही समययता श्रीमान श्रीमतीका बीचमा राम्रो सम्बन्ध नरहेको भन्ने खुलेको छ।