नवलपरासीको बर्दघाटमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार गए राति पौने १ बजेतिर बर्दघाट नगरपालिका वडा नं. ४ घिउ खोलामा ट्रक, बस र पिक अप ठोक्किएर दुर्घटना भएको थियो।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नं. को ट्रकले सोही दिशाबाट आउँदै गरेका लु २ ख २३५१ नं.को बस र ना ५ ख २२७५ नं. को पिकअपलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी रोल्पाको बागमारा बस्ने २५ वर्षीय गोबिन बुढा र पहिचान नखुलेका अन्य दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।
प्रहरीका अनुसार मृतक तीनै जना पुरुष रहेको र उनीहरुको शव जिल्ला अस्पताल परासीमा राखिएको छ। दुर्घटनामा परी १५ जना घाइते छन्।
घाइते हुनेहरूमा रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ४ का २४ वर्षीय को मरीचमान घर्ती मगर,बस चालक रोल्पाकै माडी बस्ने २४ वर्षीय हिमाल घर्ती मगर, कञ्चनपुर कृष्णपुर गाउँपालिका वडा नं.६ बस्ने २८ वर्षीय लोकराज ओझा, ट्रक चालक बर्दिया बार बर्दिया नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय सागर चौधरी, सोही स्थानका १९ वर्षीय जीवन चौधरी, काठमाडौं बस्ने २८ वर्षीय लक्ष्मी खत्री, रोल्पा माडी २ का १९ वर्षीय किरण पुन मगर, ४८ वर्षीय सुशीला नेपाली, रोल्पा माडी गाउँपालिका वडा नं. ४ का ५८ वर्षीय मोतीलाल डाँगी, ६२ वर्षीय झुप बहादुर घर्ती, ६२ वर्षीय तीर्थ बहादुर पुन, दाङको घोराही ३ बस्ने ४९ वर्षीय खिम बहादुर नेपाली, चितवन इच्छा मनकामना १ बस्ने ३१ वर्षीय विशाल चेपाङ र पिकअप चालक चितवन रत्न नगर बस्ने २९ वर्षीय आसिक गुरुङ घाइते छन्।
त्यस्तै घाइते रहेकी २५ वर्षीय युवतीको भने अवस्था गम्भीर रहेको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरू सबैको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस सडकदेखि झन्डै २०० मिटर र ट्रक १ सय मिटर तल झरेका छन्। मृतकहरू कुन सवारी साधनमा सवार थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ।