रूपन्देहीमा नेपालमा रहेका पशु चिकित्सक/प्राविधिकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ।
नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै एक स्वास्थ्य अवधारणालाई सुदृढ बनाउने उद्देश्य सहित १६ औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना गर्न लागेको हो।
यही चैत २७ र २८ गते रूपन्देहीको मणिग्राममा हुने सम्मेलनले मानव, पशु र वातावरणबिचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढङ्गले उजागर गर्ने लक्ष्य राखेको छ।
दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग भन्ने नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा नेपालसहित ७ भन्दा बढी देशका प्रतिनिधिहरू र १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूको सहभागिता रहने एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभाव जस्ता विषयमा १५० भन्दा बढी अनुसन्धान पत्र प्रस्तुत हुने छन्।
सुवेदीले केही वर्ष पहिलेसम्म वार्षिक ८ देखि १० लाख सम्म खसी बोका भारतबाट नेपाल ल्याउने गरिएकोमा अहिले नेपाल मासुमा आत्मनिर्भर भए पनि किसान र उपभोक्ताको बिचमा भने ठूलो खाडल रहेको बताए।
‘हामी मासुमा आत्मनिर्भर भइरहेका छौं तर, किसान र उपभोक्ताको बीचमा ठूलो खाडल छ। किसानले उत्पादित पशुको राम्रो मूल्य पाइरहेको छैन भने उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ सम्मेलनमा यस्ता विषयमा पनि छलफल हुने छन्,’ केन्द्रीय अध्यक्ष सुवेदीले भने।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेका अनुसार, सम्मेलनमा पशु स्वास्थ्य, औषधि, खोप, आहार र आधुनिक प्रविधिहरूसँग सम्बन्धित प्रदर्शनी स्टलहरू समेत राखिनेछन्।
‘सम्मेलनमा सहभागीहरूले पशु चिकित्सा क्षेत्रमा विकास भएका नवीनतम प्रविधि र व्यवहारिक अभ्यासबारे जानकारी लिन सक्नेछन्,’ न्यौपानेले भने।
अर्थतन्त्र र रोजगारीको प्रमुख आधारको रूपमा रहेको पशुपन्छी क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा बहस हुने न्यौपानेले बताए।
सम्मेलनमा सहभागिताका लागि हालसम्म २५० जना पशु चिकित्सकहरूले आफ्नो नाम दर्ता गरिसकेका छन् भने करिब ५ सय जना पशु चिकित्सकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
सम्मेलनकै पूर्व सन्ध्यामा चैत्र २६ गते दिउँसो रूपन्देहीमा रहेको एक्स्ट्रा टेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालभरिका भेटेरिनरीयन हरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ।