भरतपुरको बाह्रघरेस्थित मुनलाइट इङलिस स्कुलका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
परीक्षा दिन विद्यालय गएका प्रसान्त क्षेत्री र सनम रम्तेलको नारायणी नदीको घोलमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी गोबिन्द पुरीले जानकारी दिए।
उनका अनुसार कक्षा ७ मा पढ्ने १३ वर्षका क्षेत्री र रम्तेल परीक्षा सुरु हुनुअघि विद्यालयबाट निस्किएका थिए। कलम किन्न भनेर निस्किएका उनीहरु नारायणी नदीमा पौडी खेल्न गएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ।
उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
विद्यालय र नदीको दूरी करिब ८ सय मिटर छ। बालकहरू डुबेर बेपत्ता भएको सूचना पाएपछि खोजी गर्दा घोलमा डुबेको अवस्थामा भेटिएको एसपी पुरीले जानकारी दिए। दुबै बालक भरतपुर-१६ शरणपुरका हुन्।