पर्सामा श्रीमानले श्रीमतीको खुट्टा काटेको अमानवीय र क्रूर घटना बाहिरिएको छ।
चैत १ गते बिहान पर्सागढी नगरपालिका-३ विरूवा टोलकी २५ वर्षीय हरिकला सहनीसँग श्रीमान ३० वर्षीय विश्वनाथ सहनीले विवाद सुरू गरेका थिए।
विश्वनाथ वैदेशिक रोजगारीमा जान योजनामा थिए। तर आवश्यक पैसा नभएपछि उनले आफ्नी श्रीमती हरिकलाको माइतीबाट ल्याउन दबाब दिएका हुन्।
माग गरेको रकम नदिएको भन्दै विश्वनाथले आफ्नी छोरीको खुट्टा काटेर क्रूर व्यवहार गरेको हरिकलाका बुवा राजकुमारले बताए।
‘तेरो बाउले ४ लाख रुपैयाँ दिएको भए मैले यस्तो गर्ने थिएन,’ विश्वनाथको भनाइ उदृत गर्दै राजकुमारले भने।
चैत १ गते श्रीमतीको बायाँ खुट्टा काटेर विश्वनाथ फरार भएका हुन्।
‘छोरी बिरामी हुँदा, नाति बिरामी हुँदा पाँच-दश हजार सहयोग गरिरहेकै हुन्थ्यौं। बीचमा ज्वाँईले १० लाख रुपैयाँ मागेको छ, विदेश जान्छु भन्नुभएको थियो,’ राजकुमारले भने, ‘तपाई हाम्रो आर्थिक अवस्था ठिक छैन, मैले चिनेको मान्छे छन्, कम खर्च लाग्ने देशमा जानु भनेको थिएँ।’
विश्वनाथ र हरिकलाको ३ वर्ष र ७ वर्षका दुई जना छोरा छन्। उनीहरूको पालन पोषण कसरी गर्ने भन्ने चिन्ता हुन थालेको आमा सुमित्राले बताइन्।
‘छोरीको त्यस्तो अवस्था छ, नातिहरूको बिचल्ली हुने भयो। आमा हामी त तपाईकै घर जान्छौं भन्छन्,’ उनले भनिन्, ‘हामी वृद्ध अवस्थामा छौं। १० धुर पनि जमिन छैन, सुकुम्बासी छौं। के गरी पढाउने हो? के गरी हुर्काउने हो। छोराको खुट्टामा रड हालेको पाँच वर्ष भयो, पैसा नभएर झिक्न पाएको छैन।’
चैत १ गते घटनाबारे सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगेको थियो। हरिकलाको उद्धार गरी उपचारका लागि एल.एस. न्युरो एण्ड जनरल हस्पीटल, परवानीपुर बारामा भर्ना गरिएको थियो।
घटनाको १४ दिन पछि प्रहरीले विश्वनाथलाई विरुवा गाउँबाटै पक्राउ गरेको छ। उनी विरूद्ध ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकले जानकारी दिए।
‘महिला हिंसासँग जोडिएको गम्भीर विषय थियो, मानव अधिकार आयोग लगायत सबै सरोकारवालाले चासो राखेका थिए,’ एसपी पाठकले भने, ‘घटनापछि विश्वनाथ भाग्न उम्कन सक्ने ठाउँहरूमा खोजी गरेका थियौं, जंगलतिर लोकेसन देखिएपछि त्यहाँ पनि टोली पठाएर खोज्यौं। अन्ततः हिजो बेलुका गाउँबाट नै पक्राउ गर्न सफल भयौं।’