सरकारले बेटिङ सम्बन्धि एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिएको छ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरले प्रेस विज्ञप्ति जारी गर्दै चैत १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त निर्देशन दिइएको बताएका हुन्।
मन्त्रालयका अनुसार इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी विद्युतीय माध्यमबाट सञ्चालनमा रहेका सबै बेटिङ एप र वेबसाइट तत्काल बन्द गर्न निर्देशन दिइएको छ। र अहिलेसम्म पहिचान भएका त्यस्ता प्लेटफर्महरू बन्द गरिएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सर्वसाधारणलाई यस्ता एप र वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।
त्यस्तै, बेटिङसम्बन्धी गतिविधि देखिएमा सम्बन्धित निकायमा जानकारी गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार बेटिङ गराउने वा गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार बेटिङ प्रवर्द्धन गर्ने विज्ञापन गर्न पनि प्रतिबन्ध गरेको छ।
त्यस्तै, सरकारले बेटिङलाई अवैध मान्दै यसमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।