चैत लागेयता बर्खा बिर्साउने गरी लगातार झरी परिरहेको छ।
पश्चिमबाट आएको पानी पार्ने प्रणाली र स्थानीय वायुसमेत सक्रिय हुँदा गर्मी महसुस भएको छैन।
देशका धेरै ठाउँमा दिनहुँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यो क्रम लम्बिने संकेत मौसमविदले गरेका छन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले हिउँद याममा खासै वर्षा नभए पनि चैतमा वर्षा नटुट्ने संकेत गरेका हुन्।
'माघे झरी लागेन तर चैते झरी राम्रैसँग लाग्ने देखिन्छ। भोलि (सोमबार) पहाडी भेगका केही ठाउँमा अपराह्नमा हल्का वर्षाको सम्भावना छ भने मंगलबार त नेपालभरि मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,' उनको आकलन छ।
बुधबार फेरि पहाडी भेगका केही ठाउँमा पानी पर्ने देखिएको छ। बिहीबार र शुक्रबार वर्षात्ले विश्राम लिने देखिए पनि अर्को हप्ताबाट भने दैनिकजसो वर्षाको सम्भावना उनले देखाएका छन्।
तर अर्को हप्ता फेरि दैनिक जस्तो वर्षा छ। जल तथा मौसम विज्ञान विभागले अहिलेको यामलाई प्रिमनसुन भन्छ। यो याममा हिउँदभन्दा बढी पानी पर्छ। खेतीपातीको समय भएकाले अहिले परेको पानी अमृतसमान हुने कृषक बताउँछन्।
यो सिजनमा अचानक हावाहुरी, असिनापानी आउने हुन्छ। लामो समयसम्म एकनास झरी नपर्ने मौसमविद बताउँछन्। तर यस पटक मनसुनयाम बिर्साउने गरी पानी परिरहेको छ।