कपिलवस्तुमा धारिलो हतियार प्रहार गरी ३२ वर्षीय पुरूषको वीभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका वडा नम्बर १ वैरियाका ३२ वर्षीय सुमन चौधरीको हत्या गरेको आरोपमा ४५ वर्षीय उदय अधिकारी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार यही चैत १२ गते दिउँसो करिब १२:२० बजेको समयमा सुमनमाथि धारिलो खुर्पा प्रहार भएको थियो।
घटनाको सूचना पाउनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पिपराको टोलीले सुमनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी पिपरा अस्पताल पुर्याएको थियो।
खुर्पा प्रहारबाट निधार, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेका सुमनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा चिकित्सकले सोही दिन साँझ पौने ८ बजे मृत घोषणा गरेका थिए।
प्रहरीले तत्काल हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न नसके पनि अधिकारीलाई शंकाको घेरामा राखी अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धानको क्रममा सोधपुछ गर्दा अधिकारीले आफूले खुर्पा प्रहार गरी सुमनको हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन्। प्रहरीले घटनामा प्रयोग गरिएको हतियार समेत धोइपखाली लुकाएर राखेको अवस्थामा बरामद गरेको छ।
पक्राउ परेका अधिकारीले प्रहरीलाई दिएको बयान अनुसार मृतक चौधरी आफ्नो छिमेकी रहेको र केही महिनाअघि आमामाथि इँटा प्रहार गरेको घटनापछि रिसइबी र मनमुटाव बढ्दै गएको बताएका छन्।
सोही रिसइबी बढ्दै जाँदा अधिकारीले पुस महिनामै मासुमा विषादी मिसाइ खान दिई चौधारीको हत्या गर्ने प्रयास गरेका थिए।
उक्त प्रयास असफल भएपछि मौका खोज्दै जाँदा चैत १२ गते सुतिरहेको अवस्थामा खुर्पा प्रहार गरेको प्रहरीसामु बयान दिएका छन्।
घटनापश्चात् अधिकारी बाटोमा हिँडिरहेको अवस्थामा एक महिलाले प्रहरीलाई खबर गरेपछि उनी पुनः घटनास्थलमा आई प्रहरीलाई सहयोग गर्ने, साथै घटनास्थलको मुचुल्कामा समेत हस्ताक्षर गरेका थिए।
अनुसन्धान गर्दै जाँदा चौधरीको हत्यामा संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डिएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।