बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरको सडकमा मध्यराति जलेको अवस्थामा फेला परेकी महिलाको उपचारका क्रममा मृत्यु भयो।
मृतक २२ वर्षीया सृजना बुढा मगर थिइन्।
शनिबार राति साढे ११ बजेतिर कोरियपुरको सडकमा महिलाको शरीरमा आगो लागिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उनलाई उद्धार गरी तत्कालै प्रहरीले भेरी अस्पताल नेपालगञ्जमा पुर्याएको थियो। उपचारका क्रममा आइतबार राति सवा १ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरे।
अनुसन्धानका क्रममा सृजना नेपालगञ्ज–८ रानी तलाउमा प्रेमी २४ वर्षीय मोहमद आरिफ ढपालीसँग विगत दुई वर्षदेखि कोठा भाडा लिएर लिभिङ टुगेदरमा बस्दै आएको खुल्यो।
सृजना आफ्नो कोठाभन्दा टाढा अर्थात् आफ्नो प्रेमी ढपालीको परिवार बस्ने घर भएको ठाउँ नेपालगंज – १२ कोरियनपुरको व्यस्त सडक बीचमा आगो लागेको गम्भीर अवस्थामा फेला परेकी थिइन्।
बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार मृतक सृजनाले चैत १३ गते ढपालीले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।
कुटपिट गरेको भन्ने सृजनाको उजुरीको आधारमा प्रहरीले ढपालीलाई पक्राउ गरेको थियो। उनी चैत १४ गते मात्रै प्रहरी हिरासतबाट छुटेका थिए।
एक रात प्रहरी हिरासतमा बसेपछि आपसमा मिलेर बस्ने सहमति गरी ढपालीलाई छोड्न प्रहरी राजी भएको थियो।
ढपाली हिरासतबाट छुटे दिनको मध्यराति सृजना गम्भीर अवस्थामा फेला परेकी थिइन्।
सृजना आफ्ना प्रेमी ढपालीसँग रानीतलाउ नजिक बस्दै आएकी थिइन्। तर उनी जलेको अवस्थामा फेला परेको स्थान कोरिनपुर थियो। प्रहरीले यो घटनालाई रहस्यमय मान्दै उनी त्यो रातिमा आफ्नो डेरामा बस्न छोडेर किन त्यहाँ पुगिन् भन्ने अनुसन्धान अगाडि बढाएको छ।
यो घटना आत्मदाह थियो वा जघन्य हत्या थियो? यो रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ।
‘पोष्टमर्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी जिसीले भने, ‘पोष्टमर्टम रिपोर्टले पनि घटना अनुसन्धान गर्न थप सहज हुनेछ।’
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले घटनाबारे अनुसन्धान भइरहेको बताए।
घटना अनुसन्धन गर्न ढपालीसँगै उनकी आमा र दिदीलाई पनि नियन्त्रणमा लिइसकेको छ।
थप अनुसन्धनका लागि अदालतले सोमबार नै म्याद थपेको डिएसपी पातलीले जानकारी दिए।