विशेषतः मनमा धेरै कुरा खेलिरहँदा, घर–व्यवहारका कुराले हामीलाई निद्रा लाग्दैन। तनाव र एन्जाइटीका कारण पनि निद्रा नलाग्ने हुन्छ। निद्रा डिस्टर्ब गर्ने पहिलो र महत्त्वपूर्ण कारण यही हो।
दोस्रो कारण, हाम्रो जीवनशैली हो। हामी कति बजे सुत्छौं र कति बजे उठ्छौं भन्ने कुराले अर्थ राख्छ। सकेसम्म सुत्ने र उठ्ने समय एउटै हुनुपर्छ। कहिले चाँडै सुत्ने, कहिले ढिलो सुत्ने, कहिले टिभी हेरेर बस्ने, कहिले यसै अल्झिने — यी सबै कारणले निद्रामा समस्या हुन्छ। कहिले फिल्म हेर्ने त कहिले घुम्न जाने कारणले पनि निद्रामा गडबडी आउँछ।
तेस्रो, अन्य रोगका कारणले हुन्छ। जस्तै — कतै दुखाइ छ वा थाइरोइड, कलेजो, फोक्सो लगायत अन्य समस्याका कारण पनि निद्रा नलाग्ने हुन्छ।
चौथो, सुत्नुअघि कफी, शक्तिवर्द्धक पेयपदार्थ आदि सेवन गर्नु हो। अर्थात् हाम्रो खानपानका कारण पनि निद्रामा समस्या हुन्छ।
कहिलेदेखि निद्रा परेको छैन, कस्तो निद्रा हुन्छ भन्ने आधारमा समस्या पत्ता लगाइन्छ। सुत्ने बेलामा कस्ता बानी छन् भन्ने कुरामा पनि भर पर्छ। समस्या कसरी उत्पन्न भएको हो भन्ने निष्कर्षमा पुगेर उपचार गरिन्छ। उपचार गरेपछि निद्रा पर्न थाल्छ।
अर्को कुरा हाम्रो व्यवहारमा परिवर्तन गर्नुपर्छ। जस्तै कसैको सुत्ने समय निश्चित छैन भने निद्राको चक्र नै बिग्रिन्छ। यो मिलाउन जरूरी हुन्छ।
राति सुत्ने बेला कोठा अँध्यारो बनाउनुपर्छ। सुत्ने बेलामा धेरैबेर स्क्रिन हेरर बस्नु हुँदैन।
निद्रा नलाग्ने समस्याको उपचार गर्दा माथि भनिएका समस्यामध्ये कुन कारण हो भन्ने पत्ता लगाउन आवश्यक हुन्छ। अर्थात् पहिले समस्या पहिचान गर्नुपर्छ, त्यसपछि उपचार सजिलो हुन्छ।
कतिपयले निद्रा लागेन भनेर मदिरा पिउँछन्, जुन गलत हो। पेय पदार्थका कारण छिट्टै निद्रा लागे पनि गहिरो निद्रा लाग्दैन। त्यसैले यस्ता व्यक्तिहरू छिट्टै निदाउँछन् तर छिट्टै ब्युँझिन्छन्। त्यसैले यसलाई निद्राभन्दा पनि लठ्याउने मात्र भन्न सकिन्छ।
त्यस्तै ओछ्यान सुत्न मात्र प्रयोग गर्नुपर्छ। त्यहाँ बसेर खाने, मोबाइल चलाउने आदि गर्नु हुँदैन।
निद्राको समस्या लिएर आउने बिरामीमध्ये धेरैमा तनाव र एन्जाइटीको समस्या हुन्छ। परीक्षण गर्दा अन्य समस्या देखिए उपचार गरिन्छ। नभए तनाव र एन्जाइटीका लागि परामर्श वा आवश्यक परे औषधि दिइन्छ।
मलाई निद्राको समस्या भयो भने कहिले चिकित्सकलाई देखाउने भन्ने प्रश्न आउन सक्छ।
यदि तपाईं ओछ्यानमा गएपछि ३० मिनेटसम्म पनि निदाउन सक्नुहुन्न भने निद्राको समस्या भएको मान्न सकिन्छ। सामान्यतः ५–१० मिनेटमै निद्रा लाग्नुपर्छ। कहिलेकाहीँ ३० मिनेटसम्म नलाग्नु सामान्य भए पनि लामो समयसम्म यस्तो भइरहे चिकित्सकलाई देखाउनु आवश्यक हुन्छ।
(छाती तथा निद्रा रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्य नर्भिक अस्पतालमा कार्यरत छन्)