महिला उद्यमशीलता प्रवर्द्धनमा मिडियाको भूमिकाबारे सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा विज्ञहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा मूलधारका सञ्चारमाध्यमले महिला उद्यमीका विषयलाई कति प्राथमिकता दिएका छन् भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलमा सहभागी सम्पादक, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरूले महिलाका साना–साना उद्यमका कथा पनि सकारात्मक ढंगले मिडियामा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए।
सञ्चारिका समूहले जिआइजेड नेपालको सहयोगमा देशभरका महिला उद्यमीहरूको संघर्ष र सफलताका कथामा आधारित २१ वटा ‘उद्यमी महिला’ शीर्षकका फेलोसिप स्टोरीहरू प्रकाशन गरेको जानकारी दिइयो।
अन्नपूर्णपोस्ट राष्ट्रिय दैनिकका सम्पादक हरिबहादुर थापाले राजनीतिक विषयले मात्र प्राथमिकता पाइरहेको वर्तमान अवस्थामा महिला उद्यमीका प्रेरणादायी कथालाई मूलधारमा ल्याउनु सकारात्मक कदम भएको बताए।
कार्यक्रममा महिला उद्यमी श्याम वदन श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै महिला उद्यमीहरूले परिवारको जिम्मेवारीसँगै बचत समय प्रयोग गरेर व्यवसाय गरिरहेको भए पनि मिडियाले पर्याप्त स्थान नदिएको गुनासो गरिन्।
मानव अधिकारकर्मी चरण प्रसाईले महिला उद्यमसँग सम्बन्धित विषयलाई मानवअधिकारको दृष्टिकोणबाट उठान गर्नुपर्ने बताए।
उनले साना व्यवसायमा संलग्न महिलाप्रति सरकारको संवेदनशीलता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने धारणा राखे।
सञ्चारिका समूहकी सल्लाहकार तथा पूर्वअध्यक्ष बबिता बस्नेतले डिजिटल माध्यममार्फत महिला उद्यमको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
अधिवक्ता पुनदेवी महर्जनले सफलताका कथासँगै कानुनी पक्षलाई पनि मजबुत बनाउन मिडियाले ध्यान दिनुपर्ने उल्लेख गरिन्।
जिआइजेड नेपालकी कम्पोनेन्ट म्यानेजर बिनिजा नेपालले महिला उद्यमशीलता प्रवर्द्धनमा मिडिया र विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको बताइन्।
कार्यक्रममा प्रस्तुत गरिएको ६ महिनाको अध्ययन प्रतिवेदनअनुसार विभिन्न प्रदेशमा महिला सम्बन्धी समाचारका विषय फरक–फरक रहेका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी र स्वास्थ्यसम्बन्धी विषय बढी उठाइएका छन् भने अन्य प्रदेशमा उद्यमशीलता, डिजिटल व्यवसाय र राजनीतिक सहभागितासम्बन्धी समाचारलाई प्राथमिकता दिइएको पाइएको छ।
सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले अझै पनि सञ्चारमाध्यममा महिलाका सफलताभन्दा हिंसा, बलात्कार र आरोपजस्ता नकारात्मक विषयलाई बढी प्राथमिकता दिइएको बताइन्।
कार्यक्रममा २१ जना फेलो, सम्पादक, मेन्टर, नागरिक समाजका प्रतिनिधि, अधिवक्ता तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो।