दाङमा एक १४ वर्षीया बालिका मृत फेला परेकी छन्।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बबई गाउँपालिका – ३ हंसपुरकी १४ वर्षीया अनु खत्री सोमबार स्थानीय सल्लीकोट सामुदायिक वनमा मृत फेला परेकी हुन्।
खत्रीको शव बबई – ४ स्थित सल्लीकोट सामुदायिक वनभित्र फेला परेको हो।
प्रहरी निरीक्षक बस्नेतका अनुसार उनी चैत १२ गते साथीको जन्म दिन मनाउन जान्छु भनेर घरबाट गएकी थिइन्। घर परिवारले १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर खोजीका लागि निवेदन दिएका थिए।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार १४ गते उनको खोजीका लागि सबै ठाउँमा परिपत्र हुनुका साथै उनको हुलिया पठाएको थियो।
खोजी गर्ने क्रममा सड्न थालेको उनको शव सोमबार फेला परेको हो।
शव पोष्टमर्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।