दार्चुलामा जिप दुर्घटनामा परी दुई जना सरकारी कर्मचारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार मालिकार्जुन गाउँपालिका-७ की ३५ वर्षीया मनिषा पाल र शैल्यशिखर नगरपालिका-१ का ४५ वर्षीय भरत तितराको मृत्यु भएको हो।
मनिषा पाल जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा अधिकृत (इन्जिनियरिङ) पदमा कार्यरत थिइन् भने भरत तितरा सहायक स्तर (सिनियर असोसिएसन अर्गनाइजेसन अफिसर) मा कार्यरत रहेका थिए।
मंगलबार बिहान करिब ९ बजे साइट निरीक्षणका लागि निस्किएका उनीहरू सवार सुपप्र ०१-००१ ज १६४१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-४ ओशिल अन्तर्गतको भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो। जिप करिब १५० मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अचेत अवस्थामा रहेका दुई जनालाई गोकुलेश्वर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते हुनेहरूमा जिप चालक शैल्यशिखर-४ का २१ वर्षीय प्रकाश ठगुन्ना, स्थानीय ५० वर्षीय अकबर महरा र सिँचाइ कार्यालयका कार्यालय सहयोगी डाँडाकोट गाउँपालिका-५ का ४५ वर्षीय निमबहादुर पाल रहेका छन्।
उनीहरूलाई गोकुलेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको छ। घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो करिब ३ बजे धनगढी लगिएको प्रहरीले जनाएको छ।
जिपमा सवार ६ जनामध्ये एक जना सकुशल रहेका छन्। शैल्यशिखर-४ का २५ वर्षीय विक्रम महरा सामान्य अवस्थामै घर फर्किएका छन्। दुर्घटनाका क्रममा जिपको ढोका खुलेपछि उनी बाहिर खसेर जोगिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले बाटोमा रहेको ढुंगा छल्न सडकको किनारतर्फ जाँदा सडक भासिएर जिप खसेको हुन सक्ने प्रहरीले जनाएको छ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।