काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन मोटरसाइकल एम्बुलेन्स सञ्चालन गर्नेबारे छलफल सुरू गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख डंगोलले एम्बुलेन्स सेवालाई थप वैज्ञानिक बनाउन अध्ययन आवश्यक रहेको बताउँदै जटिल अवस्थामा स्वास्थ्यकर्मी छिटो पुर्याउन मोटरसाइकल एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्।
'बोलाएको एम्बुलेन्स कहाँ छ र भित्र को छन् भन्ने जानकारी सेवाग्राहीले पाउनुपर्छ,' उनले भनिन्, 'सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौं।'
महानगरले महानगरबासीलाई ‘प्रि–हस्पिटल मेडिकल सर्भिस’ दिँदै आएको छ, त्यसका लागि महानगरले २०७६ वैशाखमा केन्द्र सरकारसँग सम्झौता गरेको थियो।
वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै गुणस्तर बढाउने अध्ययन आवश्यक रहेको बताए।
नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले संवेदनशील घटनाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताए।
सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीका अनुसार हालसम्म ८४ हजार ४८९ बिरामीलाई सेवा दिइएको छ। ६९ जना गर्भवतीले एम्बुलेन्समै शिशु जन्माएका छन्। कोभिड–१९ महामारीका बेला मात्र २३ हजार ५ सय जनाले सेवा पाएका थिए।
हाल काठमाडौंमा ७, कीर्तिपुर अस्पतालमा १, ललितपुरको सातदोबाटोमा १ र भक्तपुरको सल्लाघारीमा १ गरी १० एम्बुलेन्स सञ्चालनमा छन्। मापदण्डअनुसार ८ मिनेटभित्र बिरामीसम्म पुग्न उपत्यकामा ४९ एम्बुलेन्स आवश्यक देखिएको छ।
सवारी चापको चुनौती समाधान गर्ने रणनीतिमा पनि बैठकमा जोड दिइएको थियो।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकमा स्वास्थ्य र वित्त विभागका अधिकारी तथा नेपाल एम्बुलेन्स सेवाका प्रतिनिधि सहभागी थिए।