सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीका कर्मचारीको परिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य सरकारले निःशुल्क गरिदिए जागिर छाड्नेको संख्या कम हुने बताएका छन्।
चैत्र १७ गते मंगलबार गृहमन्त्री सुधन गुरूङ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा अर्यालले उक्त कुरा बताएका हुन्।
सशस्त्रको तलब-सुविधाले परिवार र बालबच्चाको खर्च चलाउन कठिन भएकाले १६ वर्ष पछि जागिर छाड्नेको संख्या बढेको पनि बताए।
उनले दिनभर ड्युटी गरेको सिपाहीले आफ्नो घर परिवार चलाउन समेत आर्थिक अवस्था कमजोर भएपछि उसको मनोबल कमजोर हुने हुँदा यसको बारेमा गृह मन्त्रालयले आवश्यक पहल गर्न पनि अनुरोध गरे।
उनले १३ वर्षसम्म एउटै पदमा रहेर काम गरिरहेका कर्मचारीको मनोबल समेत कमजोर भएको बताए। सशस्त्र नियमावलीमा भएको व्यस्थालाई परिवर्तन गरी तल्लो तहका कर्मचारीहरू पेन्सन पाकेर अवकाश जाँदा कम्तीमा जुनियर अधिकृतसम्म बन्न सकेभने कार्यक्षेत्रमा उच्च मनोवलका साथ परिचालन हुने विश्वास व्यक्त गरे।