२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदै छ। आजदेखि चैत्र २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।
यस वर्ष लुम्बिनी प्रदेशबाट कुल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदै छन्। नियमित (साधारण तथा प्राविधिक) तर्फ ७२ हजार ८० जना र ग्रेड वृद्धितर्फ १६ हजार ९ सय ३७ जना परीक्षार्थी सहभागी हुँदै छन्।
परीक्षा सञ्चालनका लागि प्रदेशका १२ जिल्लामा गरी ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ती परीक्षा केन्द्रहरूमा परीक्षालाई व्यवस्थित बनाउन ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यस वर्ष विद्यार्थी घटेका छन्। गत वर्ष लुम्बिनी प्रदेशबाट ९४ हजार ९०८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार यस वर्ष सबैभन्दा धेरै रूपन्देहीबाट २१ हजार ३ सय परीक्षार्थी सहभागी हुँदै छन् भने सबैभन्दा कम रूकुम पूर्वबाट मात्र ९१३ जना परीक्षार्थीले परीक्षा दिँदै छन्। रूपन्देहीमा ५९ र रूकुम पूर्वमा ८ वटा परीक्षा केन्द्र तोकिएको छ।
रूपन्देही पछि धेरै परीक्षार्थी दाङमा सहभागी हुँदै छन्। दाङमा ३३ वटा परीक्षा केन्द्रबाट १३ हजार ९९८ जना परीक्षार्थी सहभागी हुँदै छन्।
त्यस्तै कपिलवस्तुमा ३५ वटा परीक्षा केन्द्रबाट ९ हजार ९१०, बाँकेमा ३६ परीक्षा केन्द्रबाट ९ हजार ८८३, बर्दियामा ३४ परीक्षा केन्द्रबाट ६ हजार ८३६, नवलपरासी पश्चिममा २३ वटा परीक्षा केन्द्रबाट ५ हजार ७७४ तथा पाल्पामा २६ वटा परीक्षा केन्द्रबाट ४ हजार ७९९ जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै छन्।
त्यसै गरी गुल्मीमा २६ परीक्षा केन्द्रमा ४ हजार ४५१, प्युठानमा १७ परीक्षा केन्द्रबाट ४ हजार ३७९, रोल्पामा १७ वटा परीक्षा केन्द्रबाट ३ हजार ८९८ र अर्घाखाँचीमा १६ वटा परीक्षा केन्द्रबाट ३ हजार २४ जना परीक्षार्थीले एसइई परीक्षा दिँदै छन्।